निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अरु दलहरुले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने आयोगले प्रष्ट पारेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत राजनीतिक दल सम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र माओवादीको नाम तथा चिन्ह अरुले प्रयोग गर्न नपाउने बताउको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमा दल दर्ता नम्बर ३२ मा रहेको नेपाल कम्युनिस्ट पार्टी एमाले र दर्ता नमबर ३७ मा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रयोग गरेको यसै दललेएकीकरण भईमाग गरेको बाहेकका नाम, झण्डा र चिन्ह राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवथा गर्ने ।’
राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा दल एकीकरण भएमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन भनिएको छ ।











