कविता अधिकारी काठमाडौ, २५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँको निर्देशनको केन्द्रमा एउटै बिषय छ–सदाचारसहितको विकास र त्यसमार्फत समृद्धि ।
प्रधानमन्त्रीले यसअघि एकपटक सचिवहरुलाई निर्देशन दिंदा पनि भ्रष्टाचारलाई समाप्त पार्ने बताउँदै त्यसमा प्रष्ट हुन निर्देशन दिनुभएको थियो । उहाँले त्यसबेला सचिव र मन्त्रीहरुमाथि अनुगमन हुने बताउनुभएको थियो ।
नीति तथा कार्यक्रम र बजेट आइसकेपछि अव तीनको कार्यान्वयनमा जाँदा कसरि नेपालको विकास गर्न सकिन्छ भन्ने प्रधानमन्त्रीको चिन्ता शुक्रबारको निर्देशनमा देखियो । उहाँले सचिवहरुलाई असार १५ भित्र कार्ययोजना पेश गर्न त निर्देशन दिनु भयो नै, त्यससंगै चाकडी नगर्न प्रष्ट निर्देशन दिनुभयो । उहाँले विकासका लागि समयसीमासहितको ठोस योजना ल्याउन निर्देशन दिनुभयो ।
मन्त्रिपरिषदको कार्यालयमा करिब २ घण्टा सचिवहरुले प्रधानमन्त्रीको भिजन सुने । देश र जनताप्रति गम्भीर भएर नयाँ ढंगबाट काममा लाग्न उहाँले दिएको निर्देशनप्रति प्रतिवद्ध रहेको पनि बताए । ‘असार १५ भित्र सबै मन्त्रालयको कार्ययोजना पेश गर्नुस्, र २५ गते छलफलका लागि तयार हुनुस्’ प्रधानमन्त्रीको निर्देशन थियो ।
प्रधानमन्त्रीले बेरोजगार नागरिक र काम गरेर पनि पैसा नपाएकाहरुको अवस्था महसुस गरी राष्ट्र र जनताप्रति जिम्मेवार हुन सचिवहरुलाई आग्रह गर्नुभयो । ‘हामी भाग्यवानी नागरिक हौं । हामीले तलब पाएका छौं । सुविधा पाएका छौं । हाम्रो जागिरपनि छ । कति कर्मचारीसाथीहरुले काम नगरेको अवस्थामा पनि पेन्सन पाउछन्’ उहाँले भन्नुभयो,‘तर यहाँ मान्छेले काम गरेर पनि पैसा पाएको छैन । ६० लाख मानिस त निरपेक्ष गरिबीको रेखामुनी छन् त्यस्तो देशमा अव हामीले त्यही अनुसार जिम्मेवार हुनुपर्छ । त्यसकारण लोभ नगरौं, देश बनाउने काममा लागौं ।’
प्रधानमन्त्रीले भ्रष्टाचारमा शुन्य सहनशिलताको सिद्धान्त माथिबाटै सुरु हुनुपर्ने भन्दै त्यस्तालाई सिधैं फायर गरिने बताउनुभयो । ‘अब कुनै मोल मोलाइजा भन्ने हुँदैन । तपाईहरुलाई मन्त्री नेता, इष्टमित्रको प्रेसर हुनसक्छ । कानुन बमोजिम मात्रै हुन्छ भनेर सबलाई भन्दिनुस् । देशको हितमा पारदर्शी बाहेक अपारदर्शी काम हँुदैन भनेर प्रष्ट भन्दिनुस्’ उहाँको भनाई थियो ।
उहाँले नियुक्ति सरुवा बढुवामा कुनै प्रकारको मोलाइजा नहुने र योग्यता क्षमताका आधारमा कर्मचारीको मुल्यांकन हुने बताउनुभयो । ‘हिजो अस्ति के भयो, त्यतातिर नलाग्नुस्, ढुक्कले काम गर्नुस्, चाकडी गर्नुको कुनै अर्थ छैन कार्यक्षमताको आधारमा मुल्यांकन हुन्छ’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीले अव चल्ते चलाते ढंगबाट जान नसकिने बताउँदै आधुनिक युगको चुनौतीलाई सामना गरेर जान सक्ने योजनाका साथ अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।
पछिल्ला समयमा संघीय संरचनामा देखिएको असन्तुष्टि जायज भए सुन्नुपर्ने नभए काममार्फत अघि बढ्नुपर्ने बताउनुभयो । काठमाडौंको धुवाँधुलो र दुर्गन्धबाट जनता पिंडित बनेकोप्रति सचेतहुँदै काठमाडौंमात्र नभएर मुख्य शहरमा देखिएको फोहोरको व्यवस्थापनमा छिटो काम थाल्नुपर्ने बताउनुभयो । शहरलाई शहरको अनुभुति हुने गरि काम थाल्न उहाँको सुझाव थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि सचिवहरुले प्रधानमन्त्रीको देशविकास गर्ने स्पीडमा कामगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले चक्रपथ डटकमसँग कुरागदैं भन्नुभयो,–उहाँमा देशविकास गर्ने छटपटी छ । कसरी गर्दा छिटो गर्न सकिन्छ भन्नेमा हुनुहुन्छ । कम लागतमा स्पीड बढाउने गतिमा प्रधानमन्त्री हुनुहन्छ ।
प्रधानमन्त्रीले आगामी असार २५ भित्र सबै मन्त्रालयका बुँदागत रुपमा बजेट नीति कार्यक्रम सफल पार्ने कार्ययोजना लिएर आउन सचिवलाई निर्देशन दिनुभएको छ र साउनको १ गतेबाट तिब्र रुपमा कामले गति लिन्छ ।’ चक्रपथ बाट










