२६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणका लागि सुशासन र विकास अनिवार्य सर्त भएको बताउनु भएको छ ।
प्रदेश नम्बर १ को प्रदेशसभा बैठकलाई आज सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक लडाइपछि विकास र समृद्धिको दिशामा नेपाल अगाडि बढेको भन्दै जनअपेक्षा अनुसार काम गर्न सबैमा आग्रह गर्नुभएको हो ।
लामो समयसम्म राजनीतिक लडाई र सामन्तीवादी शासकको चुगुँलमा परेकाले मुलुकले गरिवी व्यहोर्नु परेको भन्दै अव तिव्र आर्थिक विकासमा लाग्ने बेला आएको बताउनुभयो ।
‘अब नेपाली जनताको विकासप्रतिको अपेक्षा पुरा गर्न यहाँका स्रोत र साधनहरुलाई अधिकतम प्रयोग गर्नुपर्छ । त्यसै अनुसारका योजना र आयोजनामार्फत विकास गर्नुपर्छ । भूगोलको सम्भाव्यताका आधारमा विकासको नीति बनाएर मात्रै हामीले विकासको यात्रा भेटाउँछौ’ प्रधानमन्त्रीले भन्नुभयो ।
जनअपेक्षा पुरा गर्नका लागि जनताको शासन व्यवस्था आवश्यक रहेको र त्यसका लागि जनपक्षीय प्रणालीहरु लागू गर्नुपर्ने भन्दै तीन करोड नेपालीको घरदैलोमा सरकार पुगेको अनुभूति दिन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनअपेक्षा, विश्वास र भरोसा पुरा गर्नका लागि उपयुक्त संरचना आवश्यक रहेको र संरचना मार्फतभएका काम तिन करोड नेपालीहरुको घर दैलोमा पुगेको अनुभूति गराउनु आजको आवश्यकता रहेकोमा उहाँले बताउनुभयो ।
‘हिजोका शासकहरु जनताको सेवक बन्नुभन्दा शासक बन्न र सरकारी सम्पति व्यक्तिगत सम्पति बनाउन उद्यत थिए । त्यसले गर्दा मुलुकले गरिवीको दुर्दशा भोग्नुपर्यो’ उहाँले भन्नुभयो,‘अबका दिनमा सरकारले सेवक बनेर काम गर्छ । अबको सरकार जनताको सरकार हो । यो जनपक्षीय सरकार हो । त्यसैले यसले जनपक्षीय नीति र संरचनामा ध्यान दिन्छ । अब मुलुकले विकासको गती लिन्छ’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले हिमाल, पहाड र तराइको विविधता नै नेपालको विकासको प्रमुख आधार भएको बताउनुभयो । मुलुकको जैविक विविधतालाई चिनेर त्यसै अनुसारका योजना बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड थियो । ‘हाम्रो विविधताले नै हामीलाई चाँडै सम्पन्न बनाउँछ । मुलुकको परिर्वतनलाई संस्थागत गर्ने एतिहासिक यूगमा वर्तमान सरकार छ । जनअपेक्षा पुरा गर्न सरकारले जनपक्षीय प्रणाली र संरचनामार्फत मुलुकको विकास गर्छ’ प्रधानमन्त्रीले भन्नुभयो ।
नयाँ संरचनागत व्यवस्था गरेर आर्थिक पारदर्शिता र जनपक्षीय प्रणालीले मात्र जनअपेक्षा पुरा हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अबको यात्रा सुशासन र विकास हो । त्यसले गर्दा पृथ्वीको यो सुन्दर भूभाग नेपाललाई समृद्ध बनाउन कुनै कसर बाँकी राखिदैंन’ उहाँले भन्नुभयो ।










