मुलुक लोडसेडिङमुक्त घोषणा भएको एक महिना नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा दैनिक १२ घण्टा विद्युत कटौती हुन थालेको छ ।
बिर्तामोडस्थित नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले ४ घण्टाका दरले दिनमा तीनपटक विद्युत कटौती गर्न थालेको हो । तर, यो लोडसेडिङ केही दिनका लागि मात्र भएको अनारमनी वितरण केन्द्रले जनाएको छ ।
२५ जेठको बिहान २ बजे ट्रान्सफर्मर बिग्रिएकाले विद्युत कटौती गर्न थालिएको हो । चर्को गर्मीका बेला बिद्युत कटौती हुँदा बिर्तामोड, चारआली, गरामनी, सुरुंगा, शनिश्चरे, धुलाबारी, बाह्रदशी, राजगढ, झापा गाउँपालिका लगायत स्थानका सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।
अनारमनी वितरण केन्द्रमा जम्मा २ वटा ट्रान्सफर्मर थिए । ३३/११ केभी पावरको १ नम्बर ट्रान्सफर्मर बिग्रिएको जनाइएको छ । अर्को व्यवस्था नभएसम्मका लागि ३३/११ केभी पावरकै २ नम्बर ट्रान्सफर्मरबाट सम्पूर्ण फिडरहरु चलाउनुपर्ने प्राधिकरणको बाध्यता छ । एउटा मात्र ट्रान्सफर्मरको क्षमता नपुग्ने हुँदा प्रत्येक फिडरहरु ४/४ घण्टाको आलोपालो गरी सम्पूर्ण ११ केभी फिडरहरु चालु गरिने अनारमनी वितरण केन्द्रका प्रमुख जीतेन्द्र झाले जानकारी दिए ।
‘राति २ बजेतिर ट्रान्सफर्मरले तेल बाहिर फाल्यो, बिहान ५ बजे प्राविधिक टोलीले चेकजाँच गर्दा पुनः अपरेशनमा ल्याउने स्थिति देखिएन, अनि हामीले माथिल्लो निकायमा रिपोर्ट ग¥यौँ,’ अनारमनी वितरण केन्द्रका प्रमुख झाले भने, ‘अहिले हामी चार घण्टा बिजुली दिने, चार घण्टा काट्ने गरेर विद्युत आपूर्ति गरिरहेका छौँ ।’
अनारमनी वितरण केन्द्रमार्फत् १७ मेगावट विद्युत वितरण गर्नुपर्नेमा ८.५ मात्र विद्युत वितरण भइरहेको छ । विराटनगरबाट नयाँ ट्रान्सफर्मर आइसकेको वितरण केन्द्र प्रमुख झाले बताए । ‘बिग्रिएको पुरानो ट्रान्सफर्मरलाई मर्मतका लागि ट्रकमा लोड गरेर हेटौँडा पठाइँदैछ,’ उनले भने, ‘र, त्यही ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरिनेछ, जडान गर्नका लागि प्राविधिक रुपले कम्तिमा पनि ४८ घण्टा लाग्छ, बुधबारदेखि नियमित विद्युत आपूर्ति हुनेछ ।’
उनका अनुसार केही दिनअघिदेखि भोल्टेजको समस्या भने आइरहेकै थियो । केही उद्योगहरुमा मोटर जलेको र घरमा पंखासमेत नघुमेको गुनासो प्राधिकरणमा आइरहेको थियो । आफूहरु भोल्टेज बढाउने तरखरमा रहेकै बेला पुरानो ट्रान्सफर्मरले लोड धान्न नसकेको उनले बताए । बिग्रिएको ट्रान्सफर्मर १६ एमभीएको हो । त्यसका ठाउँमा ८ एमभीएको नयाँ ट्रान्सफर्मर ल्याइएको छ । जसका कारण आगामी दिनमा भोल्टेजको समस्या आउन सक्ने सर्वसाधारणको चिन्ता छ । केही दिनयता झापामा अत्यधिक गर्मी भएकाले अहिले विद्युत कटौती हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।










