कोटीहोम ।

पछिल्लो समय सनातन धर्मशास्त्र विपरीत जन्म र मृत्यु संस्कार हुँदै आएको ठहर गरी झापाका गुरु पुरोहितहरुको भेलाले काजकिरिया १३ दिन नै गर्नुपर्ने र न्वारान पनि ११ दिनमै मात्र हुने निर्णय गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको कनकाई नगरपालिका कोटीहोममा शनिवार जिल्लाका ६ सयभन्दा बढी आचार्य गुरुपुरोहितहरुको भेलाले उक्त निर्णय गरेको हो । ‘सनातन धर्मका सम्पूर्ण शास्त्रहरुको उद्घोष र परम्परा अनुसार १३ दिनसम्म नै काजकिरिया र ११ दिनमा मात्र न्वारान (नामकरण) संस्कार सम्पन्न गर्ने÷गराउने निर्णय भएको छ’– बैदिक सनातन धर्म संरक्षण समितिका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले भने ।

यसअघि आचार्य गुरुपुरोहितहरुले आ–आफ्नै ढंगले व्याख्या गरी कतै ५ दिन, कतै ७ र १० दिनमा समेत काजकिरिया गर्दै आएको भेलामा चर्चा गरियो । त्यस्तै न्वारान समेत कतै ५ दिन, कतै ७ र ९ दिनमा गरेर सनातन धर्मशास्त्रको धज्जी उडाइएको भन्दै भेलामा अग्रज गुरु पुरोहितहरुले त्यस्तो कार्यको निन्दा गरे । अब समितिमार्फत सबैतिर जन्म र मृत्यु संस्कारमा एकरुपता ल्याउने भेलाको उद्घोष छ । गुरुपुरोहितहरुबाटै सनातन धर्ममा चरम विकृति भइरहेको भेलाले ठहर गरेको छ । मृत्यु संस्कार शास्त्रमा १३ दिन र जन्म संस्कार ११ दिनको रहेको हुनाले यसलाई ‘उलट–पुलट’ गर्न नमिल्नेमा जोड दिँदै भेलाले ‘पालना गर्नेले पूरै संस्कार मान्नुपर्छ, नमान्नेलाई कुनै कानून छैन ।

मान्नु नमान्नु आफ्नै ठाउँमा छ । गर्दा विधिवत् रुपमा गर्नुपर्छ, दिन घटाएर गर्नु र नगर्नुको कुनै अर्थ रहँदैन’– निर्णय गरेको छ । कतिपयले समय अनुसार मृत्यु र जन्म संस्कार परिमार्जन हुनुपर्ने आवाज उठाए पनि त्यस्तो कुरा गर्नेलाई आचार्य गुरु पुरोहितहरुको जवाफ छ– ‘अहिलेको शास्त्र परिमार्जन भएर कलियुगकै लागि आएको हो, पहिले मृत्यु संस्कार १२ महिना र त्यसपछि एक महिनाको थियो । कलियुगलाई मनन् गरेर नै अहिलेको शास्त्र आएकोले यसको पूर्ण पालना गर्नु सनातन धर्मावलम्बीहरुको कर्तव्य हो ।’

शास्त्र अनुसार संस्कार मान्नेहरुले अब मृत्यु संस्कार र जन्म संस्कारलाई पूर्ण पालना गर्न वैदिक सनातन धर्म संरक्षण समितिले आग्रह समेत गरेको छ । आचार्य गुरुपुरोहितहरुलाई आफू अनुकूल त्यस्ता कर्म यति दिनमा, उति दिनमा सकिदिनुप¥यो भनेर आग्रह गर्ने अनि गुरुपुरोहितले पनि आर्थिक प्रलोभनमा परेर त्यसो गर्नाले सनातन शास्त्रीय अनुशासन भंग भएको भेलाको निष्कर्ष छ । ‘बदमासी र कमजोरी गुरुपुरोहितहरुबाटै भएको हो’– उक्त भेलाको ठहर छ– ‘लोभलालच र आर्थिक स्वार्थका लागि मात्र यस्तो विकृति बन्द गरौं, अब कमजोरी सच्याउनुपर्छ ।’ शास्त्र अनुसार जन्म र मृत्यु संस्कारलाई पालना नगर्ने गुरु पुरोहितलाई अब समितिले कार्वाही गर्ने भएको छ । अध्यक्ष खतिवडाका अनुसार आगामी ३० गते बस्ने समितिको बैठकले आगामी कार्य योजना र आचारसंहिता तय गर्नका लागि ठोस् निर्णय गर्नेछ ।

खतिवडाको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि छन्दुराम भण्डारी थिए । कार्यक्रममा आचार्य दुर्गा खतिवडा, आचार्य रघुनाथ रिमाल, आचार्य उदय दाहाल, आचार्य सोमनाथ गौतम लगायतले आ–आफ्ना धारणा राखेका थिए । उक्त भेलाले यसअघि तदर्थ समितिको रुपमा रहेको बैदिक सनातन धर्म संरक्षण समितिलाई विधिवत् पूर्णता दिएको छ । जसको अध्यक्षमा आचार्य खतिवडा, उपाध्यक्षमा दुर्गाप्रसाद खतिवडा र उदय दाहाल रहेका छन् । त्यस्तै महासचिवमा शंकर अधिकारी, सचिवमा यामनाथ खतिवडा, कोषाध्यक्षमा शान्तिराम नेपाल रहेका छन् । सदस्यहरुमा केदारनाथ साह, होमनाथ खतिवडा, हेमन्त पौडेल, लोकनाथ भण्डारी, अर्जुन भट्टराई, छविरमण अधिकारी, खेमनाथ मिश्र, बाशुदेव नेपाल, कुलशेखर खतिवडा, रामनाथ ओझा, विष्णु खतिवडा, पुष्पराज गुरागाँई, लोकनाथ भण्डारी, होमनाथ घिमिरे, खगेन्द्र अधिकारी रहेका छन् । आमसन्चार बाट साभार