आइतबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । नेपाल प्रहरीमा तीन जना मात्रै एआईजी रहने निर्णय आजको बैठकले गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
आईतबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको हो । यसअघि १६ जना एआइजी रहँदै आएकोमा मन्त्रीपरिषद बैठकले अब ३ जनाको मात्रै दरबन्दी कायम गर्ने गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
त्यसैगरी सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी २ जना कायम गरिएको छ । बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आगामी आर्थिक वर्ष भित्र १६ सय दरबन्दी र बाँकि दरबन्दी क्रमशः पदपूति गर्ने गृह मन्त्रालयको प्रस्तावित ३ हजार १ सय १ दरबन्दी पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।
सरकारले तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ। दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ।
त्यसैगरी नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।
चीनको नेश्नल इनर्जी अफ एडमिनिष्ट्रेशनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो ।
सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी मन्त्रिपरिषद बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई दिएको हो ।










