झापामा केही दिनदेखि बढेको गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । गर्मीका हिडडुल गर्न समस्या भएको छ भने दैनिक ज्याला मजदुरी गर्ने मजदुर सबैभन्दा धेरै प्रभावित भएका छन् । बुधबार झापामा तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो भने आइतबार ३६ डिग्री सेल्सियस सम्म पुगेको छ । झापामा गर्मी बढेका कारण जनजीवन कष्टकर बन्दै गएको हो । लगातार चर्को घाम लागेकाले गर्मी अत्याधिक बढेको छ । गर्मी बढेसंगै अस्पतालहरुमा बिरामीको संख्या बढ्दै गएको छ ।

पछिल्लो केही दिन याता अत्याधिक गर्मीका कारण फुट पोइजन हुने, बान्ता हुने, झाडापखला, टांउको दुख्ने, रिगटा चल्ने लगायतका समस्या देखाउदै बिरामीहरु अस्पतालसम्म धाउने गरेको चिकित्सकहरुले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गर्मी बढेपछि झापाका बिर्तामोड, भद्रपुर, दमक, धुलाबारी, कांकरभिट्टा,शनिश्चरे लगायतका बजारहरुमा दिनको समयमा मानिसको चहलपहल समेत घटेको छ । प्रायः सर्वसाधारण घर भित्रै बस्ने गरेका छन् । बाहिर निस्केकाहरु घामबाट बच्न छाता ओडेर, कपडाले शरीर ढाकेर तथा मास्क लगाएर निस्कने गरेका छन् । दिनको समयमा बजार तथा पसलहरु सुनसान जस्तै छन् ।

यसैबीच गर्मीका कारण चिसो पेय पदार्थको विक्री ह्वात्तै बढेको ब्यवसायीहरुले बताएका छन् । अधिकांश होटलहरुमा पछिल्लो समय चिसो पेय पदार्थ धेरै बिक्रि हुनेगरेको पाइएको छ । चर्को घाममा बाहिर ननिस्कन मानिसहरुलाई चिकित्सकहरुले सुझाव दिएका छन् । निस्कनै परेमा छाता ओडेर तथा चस्मा लगाएर तथा शरीर ढाक्ने कपडा लगाएर मात्रै हिड्न चिकित्सकहरुले सुझाएका छन् ।

चर्को गर्मीको मारमा परेका झापाका स्थानीय भने दैनिक १२ घण्टासम्म लोडसेडिङको खेप्नुपरेपछि अझै समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रको ट्रान्सफर्मर बिग्रिएपछि सर्वसाधारणले केही दिनदेखि सास्ती खेप्नु परेको छ ।

प्राधिकरणमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा खराबी आएपछि सर्वसाधारणले सास्ती खेप्नु परेको हो । १६ एमभिए क्षमता भएको ट्रान्सफर्मरमा खराबी आएपछि अहिले झापाका सर्वसाधारणले दैनिक १२ घण्टा लोडसेडिङको मार खेप्नुपरेको हो ।

ट्रान्सफर्मर बिग्रिएपछि अहिले झापाका शनिश्चरे, अर्जुनधारा, चारआली, सुरुङगा, झापा गाउपालिका, बाह्रदशी लगायत क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको हो । नेपाललाई नै लोडसेडिङ मुक्त घोषणा गरिए पनि सरकारले कुनै पनि स्थानमा तत्काल समस्या आएमा के गर्ने भन्ने नसोच्दा जनताले मार खेप्दै आएका छन् ।

उता पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आइतबार सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।

यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ ।

वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्कने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।