झापा । एक दशक अघिसम्म पूर्वमा निकै चर्चा पाएको थियो दमकको इन्द्रेणी तालले। भर्खर भर्खर सुरु भएको आन्तरिक पर्यटनको लहर यहाँसम्म पुग्दथ्यो। साविकको वडा १९ र हाल १० नम्बरमा रहेको यो इन्द्रेणी ताल यस बेला भने चौपाया आहाल बस्ने खाडीमा परिणत भएको छ। कुनै समय झापा, मोरङको चर्चित पर्यटकीय सिमसार अहिले संरक्षणको पर्खाइमा छ। केही वर्ष अघिसम्म पनि पौडी खेल्न र ढुंगा सयरका लागि पूर्वका विभिन्न जिल्लाहरूबाट मानिसहरू यो तालमा पुग्ने गर्दथे। तर केही वर्ष यता आएर यसको अभिभावकत्व ग्रहण गर्ने व्यक्ति वा संघ संस्था नपाएपछि ताल पुन ओझेलमा परेको हो। पूर्वपश्चिम राजमार्गको दमकचौकदेखि करिब ७ किलोमिटर दक्षिणमा रहेको यो ताल करिब १ किलोमिटर लम्बाई र ३० मिटरको चौडाइमा फैलिएकोे छ। सिमसारको रुपमा प्रवर्द्धन गरी यसलाई आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउँछन् स्थानीय पदम अधिकारी। तर केही वर्ष अघिसम्म ताल हेर्न आउनेहरू पनि अचेल कोही नआउँदा गुमनाम बनेको उनको भनाई छ।

संरक्षणमा स्थानीय चासो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीयवासीहरू इन्द्रेणी ताललाई दमकको गहनाको रुपमा विकास गर्न जरुरी रहेको बताउँछन्। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यो ताल आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने प्रचुर संभावना बोकेको छ। पूर्व वडाध्यक्ष देवीप्रसाद दाहालले नगरकै ठूलो यो ताललाई आधुनिक आर्किटेक्चरबाट डिपिआर तयार गरी तालको दिर्घकालीन विकास गरिनु पर्ने बताए। इन्द्रेणी ताल सिमसार संरक्षण समितिका अध्यक्ष समेत रहेका दाहालले भने, ‘हामी समुदाय तथा नागरिक स्तरबाट त लागेका छौं। तर सोत साधनको अभाव छ। यसको प्रवर्द्धनका लागि तीनै तहका सरकारहरूवीच समन्यको खाँचो छ।’ गतवर्ष ताल निर्माणका लागि स्थानीयहरूबाट उपभोक्ता समिति गठन गरी तालको दुबैतर्फ ३० फुट चौडाइका दुबैतर्फ कच्ची सडक निर्माण गरिएको छ। सो सडक निर्माणकालागि ताल आसपासका स्थानीय निशुल्क जग्गा उपलब्ध गराएको थिए।

नगरको प्राथमिकतामा सिमसार

दमक नगरपालिकाले भने नगरभित्र रहेका सिमसारहरूको एकीकृत विकास र प्रवर्द्धनको योजना रहेको जनाएको छ। वातावरण संरक्षण र सिमसारहरूको रक्षा नगरको प्राथमिकता भित्रको विषय रहेको नगरप्रमुख रोमनाथ ओलीले बताए। ‘हामीले नगरभित्र कहाँ कुन सिमसारको अवस्था कस्तो छ। कसरी संरक्षण गर्न सकिन्छ भनेर अध्ययन गरेका छौं’ उनले भने, ‘त्यसैले पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनको आधार बन्न सक्ने सिमसारहरूको संरक्षण र प्रवर्द्धनका लागि नगरले आवश्यक कार्यक्रम ल्याउने छ।’ वडा १० का वडाध्यक्ष बोधराज न्यौपानेले समेत सिमसारलाई वडा स्तरबाट प्राथमिकतामा राखिएको र सिमसार संरक्षण नगरको समेत नीतिमा नै रहेकाले यसलाई नयाँ रुप दिलाउन स्थानीय सरकार लागि परेको बताए। स्थानीय भालु खोलालाई २०४० सालमा बाँध निर्माण गरी सिँचाई गर्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। बाँध निर्माणपछि खोलाले तालको रुप लिए पछि २०५२ सालमा इन्द्रेणी ताल नामाकरण गरिएको थियो। थाहाखबरबाट