काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको करिब साढे दुईवर्ष पूरा हुन लागेको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी चयन भएको साढे दुईवर्ष पूरा हुन लागेको छ ।

तर अहिलेसम्म न त विभागले पूर्णता पाएको छ न त केन्द्रीय समितिले नै । सभापति देउवाले बिहीबार तीनजना केन्द्रीय समिति मनोनित गरेको भए पनि बाँकी १ जना मनोनित हुन सकेको छैन । नेपाली कांग्रेसको विधानअनुसार २१ जना सदस्य सभापतिले मनोनित गर्न पाउनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार सभापति देउवाले दिलबहादुर घर्ती, शिव हुमागाईँ र शिला शर्मालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए । तर विधानअनुसार दुई महिनाभित्र पूर्णता पाउनुपर्ने ४२ वटा विभाग अझै गठन हुन सकेको छैन । संस्थापन पक्षले नेता रामचन्द्र पौडेल पक्षको असहयोगका कारण पूर्णता पाउन नसकेको बताएको छ भने पौडेल पक्षले नेतृत्व असफल भएकाले अब अर्ली महाधिवेशनमा जानुको विकल्प नभएको बताएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टीभित्र बढेको आन्तरिक किचलोका कारण सभापति देउवालाई रिक्त रहेका विभाग र समितिहरु गठन गर्न ‘हम्मेहम्मे’ परेको कांग्रेस नेताहरु बताउँछन् ।

सभापतिले पदाधिकारी मनोनयन लगत्तै पार्टीको विधानबमोजिम गठन गर्नुपर्ने विभाग र समिति बनाउन पहल गरे पनि पौडेल पक्षले अड्को थाप्दै आएको संस्थापन पक्षीय नेताहरुले दाबी गरेका छन् । १३ औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष वितिसक्दा पनि पार्टीका विभागहरु र समितिहरु गठन गर्न नसकेपछि सभापति देउवाको आलोचना हुँदै आएको छ ।

‘‘पदाधिकारी मनोनयन गरे लगत्तैबाट सभापतिज्यूबाट विभाग र समिति गठनको प्रयास हुँदै आएको छ । तर वरिष्ठ नेताज्यूले गठन गरौं पनि भन्ने र नाम दिन पनि आनाकानी गर्ने भएकाले ढिलाई भइरहेको छ ।’’ देउवा निकट एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।

संस्थापन पक्षले विभागहरु गठन गर्नुभन्दा अगाडि विधान संशोधन मस्यौदा समिति, अनुशासन समिति र केन्द्रीय निर्वाचन समिति गठन गर्ने सहमति भइसकेको बताएको छ । रिक्त रहेका विभाग र समितिहरु गठनका लागि पहल गरिरहेको बताउँदै उपसभापति बिमलेन्द्र निधिले सबैभन्दा पहिले विधान संशोधन मस्यौदा समिति गठन गर्ने सहमति भएपनि पूर्णता दिन नसकिएको बताए ।

‘‘रामचन्द्रजीसँग दुई जना महामन्त्रीमध्ये शशांकजी अथवा पूर्णजी कुनै एक जनाको अध्यक्षतामा सहमतिमै ९ अथवा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गर्ने सहमति भइसकेको हो,’’ उपसभापति निधिले भने, ‘‘नाउँ दिनुस् न त पटक पटक भनेको हुँ तर नाउँ नदिएको पनि दुई साता भैसक्यो ।’’

तर पौडेल सिटौलाको साथ लिएर अब महासमितिमार्फत महाधिवेशनको मिति तय गर्नुपर्ने तयारीमा रहेको उनी निकट एक नेताले बताए । असारको पहिलो साता मकवानपुरको हेटौडामा हुन गइरहेको कांग्रेसका जिल्ला सभापतिहरुको भेला अगाडि नै केही प्रमुख समिति र विभाग गठनको प्रयास भइरहेको नेता निधिको भनाइ छ ।

“त्यसका लागि रामचन्द्रजी, शशांकजी, सिटौलाजीहरुसँग पटक–पटक छलफल गरेको छु,’’ निधिले भने । तर नेता रामचन्द्र पौडेलले भने सभापति एकलौटी रुपमा अघि बढेको बताए । उनले अर्ली महाधिवेशन नभई नियमित महाधिवेशनको समय पनि भइसकेको बताए ।

“सभापतिले एकलौटी गर्दै जाने अनि हामीलाई सहयोग गरेन भन्ने,” पौडेलको प्रश्न छ,“सभापतिले विधान मान्नुपर्छ कि पर्दैन ?” उनले पार्टीमा न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन आवश्यक भएको बताए ।

-बाह्रखरी बाट