काठमाडौँ : सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेका चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङगेललाई काठमाडौं ल्याइएको छ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले मोरङ कारागार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई थप अनुसन्धानका लागि सोमबार बिहान काठमाडौँ झिकाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्पत्ति शुद्धिकरण विभागले गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको छ।

तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ। चप्पल र हाफपाइन्टमाथि टिसर्ट लगाएका गोरे र भुजुङ गुरुङलाई एउटै हत्कडी लगाइएको थियो।

शुक्रबार विशेष अनुसन्धान टोलीले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार 'एमके' अग्रवालको घरमा छापा मारेको थियो। छापाको क्रममा समितिले केही महत्त्वपूर्ण कागजपत्र समेत बरामद गरेको थियो।

अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणको आरोपमा पनि छानबिन अघि बढाइने भएको छ। थुनामा रहेका प्रहरीलाई भने भ्रष्टाचारमा अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ।

-पहिलोपोस्ट बाट