काठमाडौं । राजेन्द्रमान शाक्यले न्युरोड र दरबारमार्गमा सञ्चालन गरेको आरके ज्वेलर्समा गृह मन्त्रालयका सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले छापा मारेर सबै सुनचाँदी लगायतका गरगहनासहित सबै सामग्री जफत गरेको छ । समितिले पसलमा शीलबन्दी पनि गरेको छ ।

न्युरोड विशालबजारमा रहेका दुई पसल र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा अनुसन्धान टोलीले विभिन्न निकायको रहोबरमा छापा मारेको थियो । समितिका एक सदस्यले बाह्रखरीसँग कुरा गर्दै भने–‘सुनसहित ३५ प्रकारका धातु जफत गरिएको छ । जसको मुल्य २० करोड आसपास हुनसक्ने अनुमान गरेका छौं ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छापा मार्न पुगेको टोलीमा विशेष अनुसन्धान समितिसहित कर कार्यालय, आपूर्ति व्यवस्थापन विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि तथा वडाका जनप्रतिनिधि पनि सहभागी थिए ।

ज्वेलर्सका सञ्चालक शाक्य यसअघि नै पक्राउ परेर पूर्पक्षका लागि मोरङ कारागारमा छन् । यसअघि शुक्रबार प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । अनुसन्धान टोलीका एक सदस्यले जफत गरिएको सुनको बिस्तृत अनुसन्धान गरिने जानकारी दिए ।

सुनका सबै कागजात हेरेर थप विवरण भन्न सकिने उनले बताए । गोरेको समुहले भित्र्याउने गरेको अवैध सुनमा श्रेष्ठको पनि लगानी रहेको अनुसन्धान टोलीले औल्याएको थियो ।

माघ ९ गते दुबईबाट नेपाल ल्याइएको भनिएको अवैध साढे ३३ किलो सुन एकाएक गायब भएपछि यो विषय सार्वजनिक भएको थियो । त्यसैसँग जोडेर सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले अनुसन्धान टोली बनाएको छ । टोलीले यसअघि नै ६३ जनालाई दोषी ठहर गरेको छ भने आफ्नो अनुसन्धान पनि जारी राखेको छ ।