मन्त्रालयले खटाए पनि तोकिएको कार्यक्षेत्र नगएका कर्मचारीलाई २४ घण्टाभित्र रमाना दिएर हाजिर हुन पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार १७ मन्त्रालय र योजना आयोगलाई ताकेता गरेको छ ।
मन्त्री लालबाबु पण्डितको निर्णयअनुसार सचिव शंकरप्रसाद कोइरालाले सोमबार १७ मन्त्रालयका सचिवलाई ताकेता पत्र पठाएका हुन् । विभिन्न मितिमा निर्णय गरी प्रदेश र स्थानीय तहमा खटाउने निर्णय भए पनि धेरै कर्मचारी कार्यक्षेत्रमा नपुगेको गुनासो आएपछि सामान्यले फेरि मन्त्रालयहरूलाई ताकेता गरेको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीलाई रमाना दिएर कार्यक्षेत्रमा खटाउन पटक–पटक मन्त्रालयहरूको ध्यानाकर्षण गराउँदै आएका थिए ।पटक–पटकको ताकेता कार्यान्वयन नभएपछि सोमबार फेरि मन्त्रालयले अर्थ, उद्योग वाणिज्य, ऊर्जा, सिँचाइ तथा जलस्रोत, कृषि, भूमिसुधार, खानेपानी, गृह, परराष्ट्र, भौतिक पूर्वाधार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, शिक्षा, श्रम रोजगार, पर्यटन, सञ्चार, सहरी विकास र स्वास्थ्य मन्त्रालय तथा योजना आयोगलाई पत्र पठाएको हो । टिभी अन्नपूर्ण ड्ट कम बाट










