भद्रपुर । नेपाली काँग्रेसका भद्रपुर नगर सचिव शैलेश ढुंगानाको उपचारको क्रममा मंगलबार विहान ११ बजे निधन भएको छ ।भद्रपुर नगरपालिका ७ निवासी ढुंगानाको ओम साइ पाथिभरा अस्पताल भद्रपुरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । विगत केही महिनादेखि लिभर, किड्नी र जन्डीले सिकिस्त बिरामी भएका ढुंगानालाई केही दिनदेखि उपचारका लागि आइसियुमा राखिएको थियो ।
४९ बर्षीय ढुंगाना हाल झापा उद्योग बाणिज्य संघ जिल्ला कार्य समितिका कार्यालय सचिवमा विगत दुई दशक बढी सेवारत थिए । उनी नेपाल रेडक्रस सोसाईटी उपशाखा भद्रपुरका कोषाध्यक्ष, नेपाल अपाङ्ग संघ झापाको कार्य समिति पदसहित विभिन्न संघसंगठनमा आवद्ध भएर काम गरिसकेका छन् । उनले नेपाली काँग्रेसको नगर सचिव भएर दुई कार्यकाल बिताइसकेका छन् । उनको श्रीमती सारिका र छोरा सरिन रहेको जनाइएको छ । उनको दाहसंस्कार मंगलबार दिउँसो २ बजे मेची नदीमा धार्मिक परम्परा अनुसार गरिने पारिवारीक स्रोतले जनाएको छ ।










