डेढ वर्षअघि महिलालाई खुकुरी देखाएर ज्यान लिने धम्की दिएका एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा दोषी ठहर्‍याइएका जाजरकोट भेरी नगरपालिका– १२ का वडाध्यक्ष निमबहादुर भनारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

भेरी नगरपालिका– १२ ही शितला रावतले २०७३ फागुन १७ गते मदिरा सेवन गरेर भनारीले आफुलाई खुकुरी देखाएर गाली गलौज गरी ज्यान लिने धम्की दिएको भन्दै सार्वजनिक अपराध अन्तर्गत स्थानीय प्रशासनमा जाहेरी दिएकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटना लगत्तै खुकुरीसहित पक्राउ परेका वडा अध्यक्ष भनारी १० दिन प्रहरी हिरासतमा बसेर तारेखमा छुटेका थिए । वडाध्यक्ष नहुँदै भएको घटनाको वडाध्यक्ष भएको करीब एक वर्षपछि गत वैशाखमा फैसला भएको थियो ।

गत वैशाख १० गते तत्कालिन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले वडाध्यक्ष भनारीलाई दोषी ठहर्याउँदै एक महिना १० दिन कैद र ६ हजार जरिवाना सुनाइएका थिए । फैसलामा चित्त नबुझे सम्बन्धित पक्षले फैसलाकोे ३५ दिनभित्र पुनरावलोकनकालागि निवेदन दिन सकिने कानुनी प्रावधान रहेको छ ।

उक्त अवधि वितेपछि प्रहरीले फैसला कार्यान्वयन गर्न वडाध्यक्ष भनारीलाई पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । घटना लगत्तै हिरासतमा बसेको १० दिन कटाएर उनले अब एक महिना कारागारमा बस्नु पर्ने भएको छ ।तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्षलाई छुटाउन पार्टीका नेतादेखि विभिन्न शक्ति केन्द्रबाट दवाब आइरहेको प्रहरी स्रोतले जनाएको छ