भद्रपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झापाबाट सबैभन्दा बढी भूमिसुधार मन्त्रालय अन्तर्गतका मालपोत, नापी कार्यालय विरुद्ध उजुरी परेको छ ।
आयोगमा परेका ५४ वटा उजुरी मध्ये दोस्रोमा शिक्षा कार्यालय रहेको छ । शिक्षामा १२ वटा उजुरी परेका छन् । आयोगको कार्यालय इटहरीले चन्द्रगढीमा आइतवार आयोजना गरेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोगका उपसचिव नरेन्द्रप्रसाद भट्टराईले झापामा यस आर्थिक वर्षभित्रमा भूमि सुधार कार्यालय विरुद्ध १३ वटा, शिक्षामा कार्यालय १२ वटा, सङ्घीय मामिला मन्त्रालय अन्तर्गतका कार्यालय विरुद्ध १० वटा, वनमा ८ वटा, खानेपानी कार्यालयमा २ वटा तथा कृषि र सहकारी विकास मन्त्रालय विरुद्ध एक एक÷वटा गरी ५४ वटा उजुरी परेको जानकारी दिए ।
कार्यक्रममा आयोगकी आयुक्त सावित्रा थापाले नीतिगत कानुनको अभावमा आयोग बाँधिएकाले कारवाही गर्न केही समस्या भएको बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिक प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले इमान्दारिताका साथ कानुन पालना गर्नुपर्ने बताए ।
आयोग प्रमुख प्रदिपकुमार कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।










