नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताउनुभयो ।

पूँजीवाद र साम्यवादको अभ्यास पूरानो भइसकेको हुँदा आफ्नो पार्टीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाजवादको आदर्शलाई अवलम्बन गर्ने जानकारी गराउँदै उहाँले निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेकाले आगामी दिनमा देशभर संगठन सुदृढीकरणका कार्यक्रम गरिने बताउनुभयो ।

पार्टीका नेताहरु डा केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठलगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । (रासस)