३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याबारे छानविन गर्न गठित समितिको म्याद एक महिना थपिने भएको छ । यसअघि समितिलाई २४ दिनको समय थप गरिएको थियो । २०७४ चैत १९ गते गठन भएको समितिलाई ४५ दिनको कार्यादेश दिइए पनि जेठ ४ गते पहिलो पटक २५ दिनको समय थप गरिएको थियो ।
गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषदको बैठकमा समितिको म्याद दोस्रोपटक एक महिना थप गर्ने प्रस्ताव लैजान भएको हो । गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गत चैत २० को मन्त्रिपरिषद्ले ९ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
अनुसन्धानको केही काम अझै बाँकी रहेकाले समितिको म्याद थप गर्ने प्रस्ताव मन्त्रिपरिषलदमा लैजान लागिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । छानबिन समितिले पछिल्लो समय सुन तस्करीमा मुछिएकाहरुको घर, पसल तथा रेष्टुरेन्टहरुमा छापा हानिरहेको छ । बुधबार मात्र समितिले बाजेको सेकुवा सेन्टरमा छापा हानेर शिल गरेको थियो ।
यसअघि सुन तस्करीका मूख्य लगानीकर्ता भनिएका एमके अर्थात मोहनकुमार अग्रवालको घर र राजेश शाक्यको सुन पसलमा छापा हानेको थियो । सुन तस्करी र भरिया सनम शाक्य हत्या प्रकरणमा अहिले प्रहरीका उच्च अधिकारीसहित तीन दर्जन व्यक्ति काराकारमा छन् । मोरङ जिल्ला अदालत र सम्पत्ति शुद्धीकरण विभागमा मुद्धा चलिरहेको छ ।










