शिक्षक सेवा आयोगले ६ वर्षपछि प्राथमिक तहका लागि विज्ञापन आव्हान गरेको छ । आयोगले पुरानै संरचनाअनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरेको हो । आयोगका प्रशासकीय अधिकृत तुलसीप्रसाद थपलियाले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको जानकारी दिनुभयो ।

‘पहिलो चरणमा प्राथमिक तहका लागि विज्ञापन गरिएको हो । आन्तरिक प्रतिस्पर्धाको लागि विज्ञापन खुलाउने तयारी भइसकेको छ । मावि र निमावि तहको क्रमशः विज्ञापन गर्दै जान्छौँ,’ उहाले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयोगका अनुसार खुलातर्फ ५ हजार ४ सय ९८, महिलातर्फ १ हजार ४ सय २१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी\जनजातीतर्फ १ हजार २ सय १५, मधेसीतर्फ ९ सय ८६, दलिततर्फ ४ सय ५, अपांगतर्फ २ सय २५ र पिछडिएको क्षेत्रतर्फ १ सय ८० दरबन्दीका लागि विज्ञापन गरिएको छ ।

]शिक्षा विभागले उपलब्ध गराएको ०७२ असोज ३ देखि ०७४ फागुन मसान्तसम्मको रिक्त दरबन्दी विवरणका अधारमा आयोगले विज्ञापन गरेको हो ।

विभागका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएका वा शिक्षाशास्त्रमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षामा दुई सय पूर्णाङ्कको शिक्षा विषय लिई उत्तीर्ण गरेका व्यक्ति यो विज्ञापनका लागि उम्मेदवार हुन पाउनेछन् । तर, अपांगता भएका व्यक्ति भने तालिम नभए पनि उम्मेदवार हुन पाउनेछन् ।

त्यस्तै, दरखास्त दिनका लागि दरखास्त फारम बुझाउने अन्तिम मिति ३० असार ०७५ सम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका, स्थायी अध्यापन अनुमतिपत्र प्राप्त नेपाली नागरिक हुनुपर्नेछ । तर, कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्नेछैन । कार्यरत स्थायी शिक्षकले समान पदमा उम्मेदवार हुन पाउनेछैनन् । आयोगका अनुसार लिखित परीक्षा १३ असोजमा हुनेछ ।

आयोगले यसअघि ०६९ सालमा प्राथमिक तहको विज्ञापन गरेको थियो । त्यस्तै, मावि र निमावि तहमा ०७२ यता विज्ञापन खुलाइएको छैन । आयोगले खुला प्रतिस्पर्धाबाट निमावि तथा मावि तहमा शिक्षक नियुक्ति गर्नका लागि साढे १२ हजार दरबन्दीमा विज्ञापन गर्ने आन्तरिक तयारी गरिरहेको छ ।

आयोगका प्रशासकीय अधिकृत थपलियाले आन्तरिक प्रतिस्पर्धाको लागि विज्ञापन खोल्ने तयारी भइसकेको जानकारी दिनुभयो । आन्तरिक प्रतिस्पर्धाका लागि आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका २२ हजार ७६ पदमा विज्ञापन गर्ने उहाले बताउनु भयो । ‘आन्तरिक प्रतिस्पर्धाका लागि आवश्यक विवरण संकलन भइसकेको छ । खुला प्रतिस्पर्धाको विज्ञापनको विवरण संकलनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

एकैसाथ परीक्षा गर्न सम्भव नभए पनि विज्ञापन भने एकसाथ खोल्ने तयारीमा छौँ,’ उहाले भन्नुभयो । शिक्षा ऐनको आठौँ संसोधनले कक्षा १२ सम्म माध्यमिक तहमा परिणत गरे पनि आयोगले पुरानै संरचनाअनुसार विज्ञापन गरेको हो । आठौँ संसोधनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरेको छ । थपलियाले अन्य तहमा पनि सोही विवरणअनुुसार विज्ञापन गर्ने जानकारी दिनुभयो ।