प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै युवाको सपना कोमामा पुगेको भन्दै त्यसलाई जीवित बनाउने बताएका छन्। शुक्रबार राष्ट्रिय युवा परिषदले काठमाडौंमा गरेको विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले देश बनाउने धेरैको सपना आफूले साकार पार्ने दावी गरे ।कोमामा गएका छन् सपनाहरु, ती सपनालाई जिवित बनाउन चाहन्छु । आत्मविश्वास कोमामा गएको छ, त्यो आत्मविश्वास जगाउन चाहन्छु’ उनले भने ।आफ्नो देश आफैले बनाउनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले देश बनाउने मै हु भन्ने भावना युवाजगतमा नआएसम्म मुलुकले विकासको गति लिन नसक्ने र समृद्धि हासिल गर्न नसकिने बताए । युवा जगतले मुलुक बनाउने संकल्प नगरेसम्म देशको विकास नहुने भन्दै उनले मुलुकको विकासप्रति प्रतिवद्ध बन्न युवाहरुलाई आग्रह गरे ।हजारौ बर्ष पहिले वेदको रचना गर्ने, कला संस्कृति साहित्य सिर्जना गर्ने विद्धान पुर्खाका सन्तानहरु अहिले थैलाभरी पैसा बोकेर विदेशमा पढ्न गएको ओलीले टिप्पणी गरे ।
युवाहरुको आत्मविश्वाससहितको प्रतिवद्धता भए शिक्षा स्वास्थ्यलगायत सबै क्षेत्रको विकास गर्न सकिने उनको भनाइ छ ।
-टि.भी अन्नपूर्ण बाट










