कञ्चनपुरमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ‘धान जोन’ मा अनियमिता भएको भन्दै आन्दोलित स्थानीयले जनप्रतिनिधिलाई कार्यालयमै थुनेका छन् ।
स्थानीयले भीमदत्त नगरपालिका–१९ का जनप्रतिनिधीलाई कार्यालयमै थुनेका हुन् । उनीहरुले शुक्रबार करिब पाँच घण्टा वडा अध्यक्ष दामोदर महरासहित सदस्य धर्मानन्द जोशी र चम्फा सुनारलाई विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म थुनेका छन् ।
स्थानीय महिला अगुवा अमिला जोशीले १९ नम्बर वडाका जनप्रतिनिधीले स्थानीयले लगाएको ताला ताडेको भन्दै बिरोध स्वरुप जनप्रतिनिधी थुनेको बताइन् । ‘पहिले कृषि सहकारीमा ताला लगाउँदा जनप्रतिनिधीले स्थानीयको सहमती बिनै ताला तोडे, पुनः दोस्रो पटक लगाएको तालापनि पनि तोडे, उनीहरुले किसानको समस्यालाई लत्याएका कारण शुक्रबार बाध्य भएर उनीहरुलाई थुनेका हौँ’, उनले भनिन् ।
भीमदत्त नगरपालिका–१९ की वडा सदस्य सन्तोषी ऐरले जनताको माग सम्बोधन नगरेका कारण जनप्रतिनिधिलाई थुन्न बाध्य भएको बताइन् । ‘निर्वाचित जनप्रतिनिधीले जनताको माग र भावना बुझ्नुपर्छ’, उनले भनिन्, ‘तर यहाँ जनतामाथी हैकम लादियो त्यसैले आज जनता जनप्रतिनिधीका विरुद्धमा उत्रिएका छन् ।’
दिउँसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट गएको प्रहरी टोलीले ताला फोरेको थियो । प्रहरीले थुनिएका तीनै जनालाई मुक्त गरेपनि पुनः स्थानीयले तालाबन्दी गरेका छन् । स्थानीयले शुक्रबारै भीमदत्त नगरपालिकामा कार्यालयमा पनि धर्ना दिएका छन् । नगरपालिकाको प्रत्यक्ष निर्देशनमा सहमतीबिनै ताला तोडेको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।
धर्नासंगै स्थानीले नगरपालिकाका जनप्रतिनिधिविरुद्ध महेन्द्रनगर बजारमा नाराबाजी समेत गरेका थिए । माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने स्थानीयले चेतावनी दिएका छन् । भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिला चन्दले समस्या स्थानीयको समस्या समाधान गर्ने बताइन् । ‘जनताको जायज समस्यामा हाम्रो सर्मथन हुन्छ’, उनले भनिन्, ‘अन्यायमा परेका जनतालाई न्याय दिलाइन्छ ।’ नया पत्रिका बाट










