प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सदनमा बजेटको विरोध नगर्न निर्देशन दिएका हुन् ।
सत्तारुढ नेकपा सांसदहरुले सदनमा बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेका थिए । ओलीले विरोध मात्रै गरेर समाधान नहुने बताए ।
उनले परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई आग्रह गरेका छन् । संसदीय दलका नेता समेत रहेका ओलीले बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविश्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने आश्वासन पनि दिए ।
बजेट विनियोजनमाथि प्रतिनिधिसभामा जारी छलफलमा सत्तारुढ दलकै सांसदहरुले विभागीय मन्त्री र ठूला नेता हावी भएको भन्दै चर्को आलोचना गरेका छन् । सत्तारुढ दलका सांसदहरुले नै आलोचना गरेपछि प्रतिपक्षी दललाई मसला भएको छ ।










