तेस्रो मुलुकबाट सामान बोकेर भारतको कोलकाता बन्दरगाहतर्फ आइरहेको ‘एमभी एसएसएल कोलकाता पानीजहाजमा समुद्रमै भएको आगलागीमा नेपाली व्यवसायीका झण्डै २ सय कण्टेनर सामान जलेर नष्ट भएको छ ।
नेपाल र भारतीय व्यवसायीको सामान भएको कण्टेनर बोकेको जहाजमा बुधवार मध्यरात होग्ली नदी र बे अफ बङ्गालको संगमस्थल नजिकै आगलागी भएको थियो ।२२ जना चालक र ४ सय ६४ कन्टेनर सामान रहेको जहाजमा भएको आगलागीमा चालक दलका सदस्यलाई उद्दार गरिएको भएपनि सामान भएका कण्टेनर भने निकाल्न नसकिएको उद्योगी प्रदीप मुरारकाले जानकारी दिए ।
आगलागीमा परी व्यवसायी प्रदीप मुरारकाको मात्र १ कण्टेनरमा रहेको मोबाइल पूर्णरुपमा जलेका छन । कण्टेनरमा झण्डै ४ करोड बराबरको मोबाईल नष्ट भएको उनले जानकारी दिए । उक्त पानीजहाजमा ३ सय ४० कण्टेनर सामान रहेको मध्ये २ सय कण्टेनर नेपाली उद्योगी ब्यवसायीको भएको उनले जानकारी दिए ।
पानीजहाज अहिलेपनि समुद्रमै रहेकाले कण्टेनरमा रहेका सामान प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको उनले बताएका छन् ।










