२००३ सालमा प्युठानमा जन्मिएका मोहन वैद्य किरणले विद्यालय तहको शिक्षा गृहजिल्लामै पूरा गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पस झरे । दाङमा क्याम्पस पढ्दापढ्दै साथीहरूकै प्रभाव र दाङका सामन्त जमिन्दारको अत्याचार सहन नसकी समाज परिवर्तनका लागि कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागे । ०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्य लिएका वैद्य चौथो महाधिवेशनमा केन्द्रीय सदस्य हुँदै ०४० सालमा नेकपा मशालका महासचिव भए । ०४५ सालमा उपत्यकाको सेक्टर कान्डपछि नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिए । उनको पार्टी पटक–पटकको विभाजनपछि ०५२ सालमा माओवादी जनयुद्धमा सहभागी भयो ।

वैद्य भारतीय जेलमै हुँदा माओवादी १० वर्षे जनयुद्धलाई स्थगित गर्दै शान्ति प्रक्रियामा आयो । तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिँदै पार्टीलाई संसदीय अभ्यासमा फसाएको भन्दै वैद्यले ०६९ सालमा आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरे । सो पार्टी अहिले नेकपा क्रान्तिकारी माओवादी बनेको छ । वैद्यले महासचिवका रूपमा नेतृत्व गर्दै आएका छन् । ५४ वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय वैद्यले राजनीतिक दलका धेरै नेतासँग सहकार्य गरे भने कतिपय नेतालाई नजिकबाट चिन्ने मौकासमेत पाए । आफ्ना कुरालाई निर्धक्क र सटिक रूपमा राख्न सक्ने नेताको परिचय बनाएका वैद्यका नजरमा केपी ओली यस्ता छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केपी ओली : सत्तामा हुँदा आफूलाई महाराजा ठान्छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली कुनै काममा लागेपछि दृढतापूर्वक खटिनुहुन्छ । आफ्ना कुरा जोडदार रूपमा राख्ने र खरो रूपमा लानुहुन्छ । वैचारिक रूपमा उहाँको विचार हामीलाई मन पर्ने कुरा पनि भएन । उहाँ सरकारमा हुँदा एक प्रकारले दम्भ चढेको जस्तो लाग्छ । बाहिर दुनियाँमा अरू कोही पनि छैन, मै हुँ भन्ने खालको स्वभाव उहाँमा देखिन्छ । आफूलाई राजा–महाराजाजस्तो ठान्नुहुन्छ । त्यो खालको दम्भ नेतामा हुन जरुरी छैन । नयाँ पत्रीका बाट साभार