सुन तस्करी र त्यसैसँग जोडिएका सनम शाक्यको हत्या अनुसन्धान गरिरहेको विशेष सरकारी अनुसन्धान समितिको म्याद दोस्रोपटक थपिएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यही असार मसान्तसम्मका लागि समितिको म्याद थपेको हो ।

गएको चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको विशेष अनुसन्धान समितिलाई सुरुमा ४५ दिनको समयसीमा दिइएको थियो । तर, काम नसकिएकाले जेठ मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । अनुसन्धान नटुंगिएको र सुन तस्करीका मुख्य लगानीकर्ता एमके अग्रवाललगायतका केही अभियुक्तहरु फरार रहेकाले म्याद थपिएको समितिका एक सदस्यले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालसम्म के–के गर्यो समितिले ? गत माघ ९ गते युएईबाट आएको भनिएको तस्करीको साढे ३३ किलो सुन गायब भयो । त्यसपछि यही प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भयो । सनमको हत्या सुन लुकाएको आशंकामा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ को समूहले गरेको प्रहरीको भनाइ छ । सनमको हत्या भएपछि काठमाडौंस्थित अपराध महाशाखाको समिति विराटनगर पुगेको थियो । तर, घटनाक्रमले अपराध महाशाखाकै भूमिका शंकास्पद रहेको देखाएपछि घटना रहस्यमय बनेको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गर्यो । तर घटना रहस्यमय बन्दै गएपछि मन्त्रीपरिषद् बैठकले गृहका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान समिति गठन गरेको थियो ।

पौडेल नेतृत्वको समितिले सनम हत्याको कारण खोतल्दै जाँदा सुन तस्करको समूहले हत्या गरेको निष्कर्ष निकाल्दै गोरे, एमकेलगायत समूहको पहिचान गरेको थियो । विशेष समितिले गोरेको समूहले विभिन्न समयमा ३८ क्वीन्टल सुन तस्करी गरेको र विभिन्न व्यक्तिहरुको संग्लनता रहेको निष्कर्ष निकाल्यो । समितिले सुन तस्करी र सनम हत्यामा ६३ जना संग्लन रहेको निष्कर्ष निकालेको थियो । मोरङ जिल्ला अदालतमा मोरङ प्रहरीले हत्या, अपहरण, शरीर बन्धक, तस्करी लगायतमा मुद्दा दर्ता गरेको छ ।

अनुसन्धान समितिले यो प्रकरणमा नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्धय प्रतिज केसी र सञ्जय राउत, सइ बालकृष्ण सञ्जेल, पूर्व डिआइजी गोविन्द निरौला लगायतलाई पक्राउ गर्यो ।

प्रहरीसँगै मख्य अभियुक्त भनिएका गोरेलगायत अन्यलाई पक्राउ गर्दा एसएसपी श्याम खत्री र छिरिङ वाङदेल भने आफैं अदालतमा उपस्थित भए । हाल सुन तस्करी प्रकरणमा गोरेसहित ३१ जना पूर्पक्षका लागि जेल चलान भएका छन् भने अझै २९ जना फरार सूचीमा छन् । समितिले सुन तस्करीको अनुसन्धान विभिन्न कोणबाट गरिरहेको दाबी गर्दै आएको छ । समितिले पछिल्लो समय अदालतको आदेशअनुसार अभियुक्तहरुको सम्पति रोक्का गर्ने, जफत गर्ने, फरार भएकाहरुको खोजी कार्य तिव्र पारेको जनाएको छ ।

यसैबीचमा अनुसन्धान समितिले सुन तस्करीका फरार अभियुक्त राजेद्रकुमार शाक्यले सञ्चालन गरेको आरके ज्वेलर्समा छापा मारेर ३० करोडभन्दा बढीको सुनचाँदी जफत गर्यो । त्यसैगरी बुधबारमात्र अर्का अभियुक्त चेतनाथ भण्डारीको स्वामित्वमा रहेका बाजेको सेकुवाका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ । समितिले तस्करीको सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको घरमा पनि छापा मारेको थियो । बाह्रखरी बाट