झापा, असार ४ । वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“वर्षा र हावाहुरीले पोल भत्किँदा र तार चुडिँदा विद्युत् प्रसारणमा समस्या आएको छ”, प्रमुख साहले भने, “हल्दीबारीको जलथल क्षेत्रमा बढी समस्या देखिएको छ, पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध हुन दिएका छैनौँ ।” आफ्नो क्षेत्रमा विद्युत्मा समस्या आए तुरुन्तै कार्यालयमा जानकारी गराउनसमेत उनले आग्रह गरे ।

सकेसम्म छिटो मर्मत गरेर विद्युत् सेवा सुचारु गर्न प्रयास भइरहेको कार्यालयले जनाएको छ । हावाहुरीका कारण भद्रपुर सवस्टेशन अन्तर्गतको क्षेत्रमा नौ वटा पोल भाँचिएको र एउटा २५ केभीएको ट्रान्सिमिटर जलेको छ । जसबाट रु चार लाख बराबरको क्षति भएको प्रमुख साहले जानकारी दिए ।

शनिबार राति चट्याङसँगै परेको पानीले बिर्तामोडस्थित अनारमनी सवस्टेशनबाट भद्रपुर सवस्टेशनतर्फ जोड्ने ३३ केभी प्रशारण लाइनमा समस्या आएका थियो । रासस