काठमाडौँ- सोमबार साँझ निधन भएका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्तिम संस्कार मंगलबार दिउँसो २ बजे पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाहगृहमा हुने भएको छ।
उनलाई मङ्गलबार बिहान ८ बजेदेखि १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिने परिवार स्रोतले जानकारी दिएको छ।
उनको सात दिनको किरिया गरिने जानकारी पनि परिवारस्रोतले दिएको छ।
न्यूरो सर्जन देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो। उनी ६५ वर्षका थिए। उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन्। उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन्। जेठी छोरी मेधा पनि डाक्टर हुन्।
डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन्। त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको थियो।
उनी पित्त थैलीको क्यान्सरबाट ग्रस्त थिए।










