प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको सम्बन्ध अझै प्रगाढ, सुदृढ, मजबुत र पारस्परिक सहयोगमा आधारित रहने बताएका छन् ।

असार ५ गते औपचारिक भ्रमणमा चीन जान लागेका प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भ्रमणका क्रममा गरिने कुनै पनि सम्झौता र समझदारी राष्ट्रको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानमा आँच नपुग्ने गरी गरिने बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छिमेकी मुलुकसँग राम्रो सम्बन्ध विकास गरेर देशलाई आर्थिक विकासको बाटोमा मोड्ने र अतिकम विकसित मुलुकबाट माथि उक्लने प्रयासमा जुट्न सांसदहरुलाई आग्रह गरे । दीगो विकास लक्ष्य हासिल गर्न उपलबध स्रोतसंसाधनलाई परिचालन गर्नुपर्नेमा जोड दिए । समाजमा रहेका विकृति, विसंगति, वेथितिलाई अन्त्य गर्दै सुशासन र विकासमा अघि बढ्न सबैलाई आग्रह गरे ।

संसदलाई सम्बोधन गर्ने क्रममा आफ्नो भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भएका केहि घटनाहरुलाई पनि खोतल्न भ्याए । आफू भारत भ्रमणमा गएपछि भारतसँगको सम्बन्ध दिनप्रतिदिन झनै सुमधुर हुँदै गएको जानकारी गराए । तराईमा हुने डुवानका विषयमा दुबै राष्ट्रका प्रतिनिधीबीच छलफल मार्फत् विस्तारै वर्षेनि न्यूनिकरण गर्दै लैजाने विषयमा समझदारी हुने बताए । साथै भारतले विरगञ्जमा राखेको अस्थायी कार्यालय हटेको, चारवटा नयाँ हवाईमार्गमा सम्झौता भएको, रेलवे, जलमार्ग, पूर्वाधार निर्माणमा समझदारी बनेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण पछि ‘अफसिजन’मा पनि पोखरा र जोमसोमका होटल भरिभराउ भएको प्रसंग कोट्याए । साथै प्रधानमन्त्री मोदीले सुरक्षाकर्मी लिएर आएकोमा नेपालमा अनावश्यक टिकाटिप्पणी भएको बताए ।

प्रधानमन्त्री ओलीले चीन पुरानो मित्रशक्ति, समस्यारहित मित्रशक्ति भएकाले उसँगको सम्बन्ध अझै विस्तार, कस्सिलो हुने बताए । गत वर्ष प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा गएको समयमा बनेका समझदारीका आधारहरुमा छलफल हुने बताए । प्रधानमन्त्रीले सहकार्य, सहयोग र संयुक्त लगानीको माध्यमबाट विश्व अर्थतन्त्रमा शक्तिशाली चीनसँग फाइदा लिनु नेपालको आवश्यकता रहेको बताए । प्रधानमन्त्रीले उर्जा सहयोग, लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, वेल्ट एण्ड रोड इनिसिएटिभ, विभिन्न नाका, र नयाँ नाकाहरुका विषयमा हस्ताक्षर हुने संसदलाई विश्वास दिलाए ।

चीनका प्रधानमन्त्री लि खछ्याङ, राष्ट्रपति सि जिनफिङसँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली असार ५ देखि १० गतेसम्म चीनको औपचारिक भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । काठमाडौं टुडे बाट