नारायण भण्डारी

वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको निधनपछि पार्थिव शरीरमा ढाका टोपी र वदनमा दौरासुरुवाल देखियो । यसअघि उनी जन्मस्थलको पानी खान गार्खा पुगे । असाध्य रोग लागेको निधो भएपछि उनी लण्डन छाडेर स्वदेश फर्किए । जीवन अस्ताचलको घडीमा गरिएका कृत्यहरु सबैभन्दा संवेदनशील र मर्मस्पर्शी हुन्छन् ।उनको निधनले राष्ट्रिय प्रतिभाको अपुरणीय क्षति भयो नै यसमा देशवासी शोकमा छन् । दुःखी छन् । यो मृत्युले मुलुकलाई सिकाएको पनि छ । केही देखाएको पनि छ । राष्ट्रप्रेम उचालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय पोशाकमा विवाद गर्नेहरु छन् तर विकल्प छैन । राज्य निकायका प्रमुखहरुले शिरमा टोपी लगायकै छन् नत्र नेपालीत्वको निशानी कहाँ ? यो निशानीकै शिरानी हालेर सदाका लागि निदाए डा देवकोटा । मृत्यु पनि देश दृष्टान्त बनोस् । नमनीय रहोस् ।

पाश्चात्य पढाइमा प्रवीण देवकोटाले देशविदेशको सम्मान पाए । उतै कमाउने अवसर पनि पाए, उतैका मित्रले सघाए,बचाउछु पनि भने तर बचाइ कसैको वशमा छैन, काल जाँदैन बरु हामी नै जान्छौं भन्ने भर्तृहरिको भनाइमा विधिको विधान छ । यो सारको संकेत पाएका देवकोटा विदेशबाट आफ्नै माटाको मुलुकमा आए । प्राण पाएको भूमि त्राण पाए । उनका आँखा यहीं रसाए ।

अन्तिम पल्ट स्वदेशको भूमि छुँदाको भाव सँगाल्नु त अहोभाग्य । सन्तानले पनि कुन देशको जन्मन कहाँको मरन भनेर गाउनु परेन । यस जन्मले प्रथम पाइला टेकेको धरातल छुने उनको धोको पनि बाँकी रहेन । यसमा विदेश गएर उतै बस्ने,उपचारका नाममा विदेशी अस्पतालै मात्र पस्ने विदेशमा बेपत्ता छ भन्नेलाई पनि केही सिकाएको छ । महान् मानिसले मातृभूमि शिरमा राख्छ । जन्मघर, जन्मभूमि र स्वराष्ट्रको संस्कृतिभन्दा माथि केही हुँदैन । जन्मदा होस् वा मृत्युमा राष्ट्रप्रेमभन्दा सुहाउने अर्को कुनै शैली हुँदैन ।

उनी शल्यचिकित्साका विज्ञ,मस्तिष्कसम्बन्धी विशेषज्ञ तर अन्तमा आयुर्वेदको विधि पनि अंगीकार गरे । मान्यता गरे ।

वदन त व्यथाले व्यथित तुल्यायो तुल्यायो,बाँच्न नसक्ने गरी गलायो । तर मनले मायाको मन्दिर र भावनाको भुवन खोजिरह्यो । त्यसको प्यास पूरा गर्न उनी शैयामै सुतेर जन्मघर गोर्खा गए । सिस्नेधाराको पानी खाए । शैशवकालदेखि नै खाएको कलकल पानीले प्राण रसाए । शरीर शीतल बनाए ।

गाउँको छोरो घर फर्केकोमा दाजुभाइ दिदीबहिनी रमाए । आँखाभरि आशु लिएर आत्मीयताले स्वागत गरे । गाउँको गरिमा कति महान्,आफन्तको माया कति गहन । अन्त्यकालमा आत्मालाई वात्सल्य पोषण दिन्छ,मातृवक्षको दशधारा बन्छ भनेर गाउँकै धाराको पानी लिएर उनी काठमाडौ फर्किए ।

जीवनको अस्ताचलमा डा देवकोटाले गरेका व्यवहारले देशवासीको ध्यान आकर्षित गरेको थियो । उनले देखाएको राष्ट्रियताले सबै ओतप्रोत भएका थिए । उनीप्रति देशवासीको माया बढिरहेको थियो । उनी ओच्छयानबाट उठून् भन्ने कामना गरिएको थियो । तर दैवले पो पर्दा उठायो । राष्ट्रियताको दियो बाल्ने पात्र आज आफै अदृश्य भयो । यता राष्ट्रप्रेमको दृश्य दिएर उनले उताबाट पर्दा लगाए ।