काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा आजदेखि प्रक्रिया शुरु भएको छ।

दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुबै दलबाट गठित कार्यदलले आज पहिलो पटक गरेको छलफलमा गत दुई वर्ष अगाडि दुवै दलबीच एकता महाधिवेशन हुँदा ती विषय सर्वसम्मत रुपमा पारित भएका कारण त्यसलाई आधार बनाएर जान सुझाव दिइएको छ।

वार्तामा एकताको स्वरुप कस्तो हुने, अध्यक्षात्मक तथा बहुपदीय स्वरुपमा संगठनलाई कसरी विकास गर्ने, शक्ति पृथक्कीकरणलगायत विषयमा छलफल भएको राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए।

बैठकमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा९प्रजातान्त्रिक०बाट दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो।

प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमति भएको गुरुङले जानकारी दिएका छन्। हाल राप्रपाका तीन समूह छन् जसमा एकीकृत राप्रपा (राष्ट्रवादी) को नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गर्दै आएका छन्।

स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा पराजित भएपछि तीनै समूह एकताका लागि जुर्मुराएका छन्।

विसं २०४७ जेठ १५ गते राप्रपा (थापा) र राप्रपा (चन्द) गठन भई विभिन्न टुक्रामा विभाजन, एकता र पुनःविभाजन हुँदै आएको छ।