चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच आज बुधबार बेइजिङको सरकारी अड्डा ग्रेट हल हफ द पीपुलमा भेटवार्ता हुँदैछ।
चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मंगलबार बेइजिङ उत्रेका ओलीले पहिला राष्ट्रपति सी जिनफिङसँग भेटावार्ता गर्न लागेका हुन्।
ओली र सीबीच हुन लागेको यो दोस्रो भेटवार्ता हो। दुई वर्ष अघि पहिलो पटक प्रधानमन्त्री भएका ओलीले राष्ट्रपति सीसँग बेइजिङमै भेटवार्ता गरेका थिए। राष्ट्रपति सीको पनि यो दोस्रो कार्यकाल हो।
चीनको सरकारी मुख्यालय ग्रेटहलमा अपरान्ह हुने भेटवार्ता करिब एक घण्टाको हुने बताइएको छ। राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले खासगरी बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) मा नेपालको संलग्नताको विषयमा छलफल गर्नेछन्।
चीनले अहिले केरुङ–काठमाडौं हिमालयपार रेलमार्ग, अन्तरदेशीय विद्युत ट्रान्समिसन लाइन, व्यापार तथा पारबहन, नेपालको जलविद्युत र अन्य क्षेत्रमा हुने लगानी जस्ता सबै एजेण्डा बीआरआइ अन्तर्गत राखेर अगाडि बढ्न चाहेको छ।
सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव हुन् भने ओली एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष। पार्टी एकतापछि सीसँग ओलीको यो पहिलो भेटवार्ता हो, जहाँ दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे छलफल हुनेछ।
भेटमा ओलीले नेपालका राष्ट्रपतिको तर्फबाट चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमणमो निमन्त्रणा पनि दिनेछन्। दुई वर्षअघि नै राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारी भएपनि अन्तिम समयमा त्यो रद्द भएको थियो।
नेपालमा दुई तिहाई बहुमतको स्थिर सरकार बनेको अवस्थामा अब राष्ट्रपति सी नेपाल भ्रमण गर्न उत्सुक रहेको बेइजिङका अधिकारीहरूले बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङसँग बिहिबार दुई पक्षीय वार्ता गर्ने र नेपाल र चीनबीच केही सम्झौता हुने कार्यक्रम छ।










