झापा : चीनले झापामा निर्माण हुने दुई ठूला सिंञ्चाई परियोजनाका लागि सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधवार सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्ने अभियानस्वरुप झापाको बिरिङ र कनकाई नदीमा सिंञ्चाई परियोजना सञ्चालन गर्न चीनले सहयोग गर्नेछ ।

यसबाहेक कमला नदी पनि सिंञ्चाई परियोजना सञ्चालन हुनेछ । तीन वटै नदीमा सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने सम्बन्धी सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच हस्ताक्षर भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनामा ४६ मिलियन डलर लगानी गरिनेछ । यस्तै, १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।