सुन तस्करी प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती गोरेका मुख्य सहयोगी राम तिवारीलाई छानबिन समितिले जिल्ला अदालत मोरङमा बुझाएको छ ।
दुई साता लामो अनुसन्धानपछि तिवारीलाई अदालतमा बुझाइएको हो । जिल्ला अदालत मोरङले तिवारीलाई सुन प्रकरणमा प्रतिवादी बनाएर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुमति दिएको छ ।
अदालतले तिवारीलाई असार १५ गतेसम्म म्याद थप गरी अनुसन्धानका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए । सुन प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले तिवारीलाई दक्षिण कोरियाबाट फर्किँदै गर्दा पक्राउ गरेको थियो ।
छानबिन समितिले तिवारीसँग सोधपुछ गरेको थियो । तिवारीले सुन तस्करीमा आफूले साथ नदिएको बयान दिएको स्रोतले बतायो । प्रहरीको नियन्त्रणमा रहेका तिवारीले गोरेले समेत घर जग्गा कारोबारी मात्र भएको बताउँदै आएका छन् ।
गोरेको लागानीमा तिवारीले जग्गा किनबेच गर्ने गरेको अनुसन्धानमा खुलेको हो । काभ्रे स्थाई घर भएका तिवारीलाई गोरे मामा भनेर सम्बोधन गर्ने गर्दथे ।
तिवारीको मुख्य पेसा भनेको घरजग्गा कारोबार हो । काठमाण्डुको कालोपुलमा तिवारीको एउटा मोटर ग्यारेज समेत रहेको छ । तर विगत केही समयदेखि तिवारीले ग्यारेज भाडामा दिएका छन् । तिवारीले महिनाको सात लाख रुपैयाँमा ग्यारेज भाडामा दिएको बयान दिएका छन् । उनले त्यो ग्यारेज भएको जग्गा पनि भाडामा लिएका हुन् ।
तिवारीले गुन्डा नाइके गणेश लामासँग पनि पार्टनरमा कारोबार गरेको खुलेको हो । क्रसरमा लामा र तिवारीको लगानी भएको बयानमा स्वीकार गरेको छानबिन समितिले जनाएको छ । काठमाडौँ टुडे बाट साभार










