काठमाडौंको बौद्धमा लुटेरा र प्रहरीबीच मुठभेड भएको छ । महानगरीय अपराध महाशाखाको टोली र लुटेरा खुडे भनिने अमरबहादुर तामाङबीच मुठभेड भएको हो । प्रहरी टोलीमाथि तामाङले आक्रमण गर्न खोजेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको छ । महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले अनलाइनखबरलाई दिएको जानकारी अनुसार तामाङको खुट्टामा गोली लागेको छ ।
घाइते तामाङलाई वीर अस्पताल लैजानले तयारी भइरहेको सिंहले बताए । ‘लुटपाटमा संलग्न तामाङ बौद्ध एरियामा लुकेर बसेको सूचना पाएपछि हाम्रो टोली यहाँबाट मुभ भएको थियो’, उनले भने, ‘त्यहाँ पुगेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको हो ।’
घटनास्थलबाट एउटा कटुवाल पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यस्तै, १२ सय अमेरिकी डलर र ८ बण्डल नोटको आकारको कागज समेत बरामद भएको महाशाखाले जनाएको छ ।
को हुन् तामाङ ?
खुडे भनेर अपराधिक दुनियाँमा चिनिने तामाङ डाँका मुद्दामा यसअघि कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । उनी डाँका मुद्दामा पक्राउ परेर दुई वर्ष कैद सजाय भुक्तान गरी छुटेका थिए । तर, उनले पुरानै धन्दालाई निरन्तरता दिए । पछिल्लो समय २४ जेठमा उनले डलर साट्ने भन्दै बोलाएर एक व्यक्तिको साथबाट १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए ।
ताप्लेजुङको चमैतका वीरेन्द्र तामाङलाई डलर साट्छु भन्दै बोलाएर भक्तपुरको सूर्यविनायकस्थित जंगलमा बोलाएर उनीसहित ४ जनाको समूहले त्यो रकम लुटेर भागेका थिए । उनको समूहको अन्य ३ जना अझै फरार छन् । अनलाइन खबर बाट










