मस्को : सन् १९९८ को उपाधि विजेता फ्रान्स जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’अन्तर्गतको बिहीबार राति खेलिएको आफ्नो दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पेरुलाई १-० गोलले हराउँदै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको हो। फ्रान्सले समूहगत चरणको आफ्नो पहिलो खेलमा एसियाली टोली अस्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो।
लगातार दुई खेलमा विजयी भएपछि फ्रान्स ६ अंक बटुल्दै समूहगत चरणको आफ्नो एक खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा पुगेको हो। तालिकाको दोस्रो स्थानमा आसिन डेनमार्कको दुई खेलबाट चार अंक छ। एक अंकसहित अस्ट्रेलिया तेस्रो स्थानमा छ। दुबै खेलमा पराजित भएको पेरु भने एक खेल खेल्न बाँकी रहँदै उपाधि होडबाट बाहिरिएको हो।



