काठमाडौं/दुबई नेपाली कामदार र विदेशी पर्यटकले भरिएको फ्लाई दुबईको जहाज बुधवार विहान काठमाडौंका लागि दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी) बाट उडान भरे लगत्तै आपतकालिन अवरण गर्नुपरेको छ । दुबईस्थित फ्लाई दुबई स्रोतका अनुसार बोईङ ३७३–८केएन जहाजले टेक अफ गरे लगत्तै दिशा देखाउने उपकरण (नेभिगेशन) बिग्रेपछि आपतकालिन अवरण गराइएको हो । कूल १५६ यात्रु लिएर काठमाडौंका लागि उडेको ए६–फएजीजे कलसाइन भएको जहाजले निर्धारित रुट पक्रन नसकी दिशा विहान भएपछि जहाजको कमाण्ड गरिरहेको क्याप्टेनले ‘मेडे’ भन्दै आपतकालिन अवतरण मागेका थिए । जहाजले आपतकालिन अवतरण मागेपछि तत्कालै दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलले जहाजलाई निगरानी गर्दै भिएफआर पद्धतिबाट अतवरण गराएको जनाइएको छ । टेकअफ गरेको केही मिनेटभित्रैमा जहाजको नेभिगेशन उपकरणले काम गर्न छोडेको थियो । त्यतिबेला सन् २०१७ मा अमेरिकामा बनेको नयाँ फ्लाई दुबईको जहाज उम अल क्वैनबाट उत्तरतर्फको समुन्द्रमाथि ८३०० फिटको उचाईमा थियो । ३६५ किलोनट प्रतिघण्टाको गतिमा रहेको जहाजको ककपिटमा नेभिगेशन सिष्टमले काम नगरेपछि दुबई विमानस्थलमै डाईभर्ट गरिएको हो ।

एयरहोस्टेजले यात्रुलाई जहाजमा सामान्य समस्या आएकाले पुनः दुबई फर्कनुपर्ने जानकारी गराउँदै उचाई घटाउदै विमानस्थलतर्फ सोझिएको थियो । क्याप्टेनले आपतकालिन अवतरणको लागि मागेपछि आपतकालिन उपकरण तयारी अवस्थामा राख्न लगाउन एक फन्को मार्न भनियो र जहाजले दुबईको फजैरथ पुगेर एक फन्को मार्दै (करिब २० मिनेट होल्ड हुँदै) दुबई विमानस्थलतर्फ सोझिएको थियो । तर जहाजको एलाइनमेन्ट नमिलेपछि विमानस्थल नजिकैको मुश्रिफपार्कमा जहाजलाई पुनः एक फन्को मार्न लगाएर बल्ल अवतरणको लागि अनुमति दिइयो । सकुशल अवतरण गरेको जहाज अवतरणको क्रममा सामान्यभन्दा बढि हल्लिएको काठमाडौंमा ओर्लिएका एक यात्रुले दृष्टि न्यूजलाई बताए । नेभिगेशनले काम नगर्दा जहाजले सही दिशा पत्ता लगाउन नसक्दा निर्धारित रुटमा यात्रा गर्न सक्दैन भने अवतरण पनि भिएफआर (आँखाले हेरेर गरिने अवतरण) विधि अपनाउन बाध्य हुनुपर्दछ । फ्लाई दुबईले तत्कालै अर्को जहाज व्यवस्था गरेर यात्रुलाई बुधबार नै काठमाडौं पठाएको फ्लाई दुबईले जनाएको छ । जहाजमा यात्रा गर्नेहरु अधिकांश नेपाली कामदार रहेको थिए । नेभिगेशनमा समस्या आएपछि सो जहाज ग्राउण्डेड भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
दृष्टि न्यूज बाट साभार