काठमाडौं । शुक्रबार संघीय संसदमा शुन्य समयमा विभिन्न दलका सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखे । सांसदहरुले सुकुम्बासी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन ।
सांसदहरुले पूर्वाधार विकास र स्वास्थ्य क्षेत्रमा हाल देखिएका जल्दाबल्दा समस्या तत्काल समाधान गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै सांसद भानुभक्त ढकालले विगत ४० वर्षदेखि थाती रहेको सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराए । उनले जग्गा हुने तर लालपूर्जा नहुने समस्या तत्काल समाधान गर्न सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
सांसद योगेश भट्टराईले ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिका र लिखुवाखोला गाउँपालिकाको केन्द्रमा तत्काल इलाका प्रहरी कार्यालय स्थापन गर्न सरकारसँग माग गरे ।
उनले सुरक्षा निकायको अभावमा ताल्लेजुङलगायत देशका विभिन्न गाउँपालिकाहरुमा वित्तीय संस्थाहरुको स्थापना हुन नसकेको उल्लेख गर्दै तत्काल सुरक्षाको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
त्यसैगरी सांसद मिना सुब्बाले सुनसरीको धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विमामार्फत् उपलब्ध गराइदै आएको निःशुल्क औषधि ४ महिनायता बन्द भएको भन्दै सो सेवा तत्काल उपलब्ध गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
अर्का सांसद यज्ञराज सुनुवारले खुर्कोट सडक खण्ड वरपरको आवागमनलाई सहज बनाउने गरी पुल निर्माणमा ढिलाई नगर्न पनि सरकारसँग माग गरिन् । सांसदहरुले सिंहदरबारको अधिकार गाउँ–गाउँ पुर्याउने योजनालाई प्रभावकारी रुपमा अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।










