काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम छ । ओली सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् । दुई धार्मिक स्थल घुमेरै प्रधानमन्त्रीको आज बिहानको समय बित्नेछ ।
जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्ती छ । तिब्बतियन भाषामा जोखाङ भनेको बुद्धको घर हो । यस्तै दिउँसो प्रधानमन्त्री ओली ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्न जाने कार्यक्रम छ ।
बिहानको घुमफिरपछि खाना खाएर उहाँ छुसुई परियोजना पुग्नु हुनेछ । यो चीनकै एक नमुना कृषि परियोजना हो । यो परियोजनामा अति उच्च क्षेत्रमा पनि कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ । तिब्बतियन जनताको गरिबी कम गर्न कृषि उत्पादन बढाउन चीन सरकारले तिब्बतमा सञ्चालन गरेको यो महत्वाकांक्षी परियोजना हो ।
यहाँको अति उच्च भेगमा पनि गोलभेँडा, काक्रो, अंगुर, स्याउलगायतका फलफूल र तरकारी उत्पादन गर्न सकिने बारे परीक्षण भइरहेको छ । छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । भ्रमण तालिका अनुसार भोली प्रधानमन्त्री ओली स्वदेश फर्कनेछन् । छलफल बाट साभार










