माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको दुई घण्टाभित्रमा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । दक्ष जनशक्ति अभावमा परीक्षा नियन्त्रण कार्यालयले तोकिएको समयमा नतिजा प्रकाशन गर्न नसकेको हो ।
स्रोतका अनुसार नतिजाको डाटा व्यवस्थापनमा काम गर्ने दक्ष जनशक्तिको अभावले ढिलाइ भएको हो । कार्यालयमा गत वर्षसम्म काम गरेका इन्जिनियर सरुवा भएपछि यसवर्ष नयाँ इन्जिनियरमार्फत काम गराउँदा ढिला भइरहेको कार्यालय स्रोतले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले ३ बजे बोर्ड बैठक डाकिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य कृष्णप्रसाद काप्रीले विद्यार्थी लेजर प्रिन्ट भइरहेको बताए । उक्त लेजरमा बोर्डका पदाधिकारीले हस्ताक्षर गरेपछि मात्रै नतिजा सार्वजनिक गरिन्छ । उनले भने, 'नतिजा आजै सार्वजनिक हुन्छ तर केही समय लाग्छ ।'
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरमा सार्वजनिक गर्दैछ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले केहीबेरमा नतिजा सार्वजनिक हुने जानकारी दिए। उनका अनुसारनतिजा प्रकाशनका लागि बोर्ड बैठक बसिरहेको छ।
नतिजा सार्वजनिक गरेसँगै त्यसलाई काठमाडौं वर्ल्ड स्कुलसँगको सहकार्यमा ईकान्तिपुर डटकमले आफ्नो साइटमा प्रकाशित गर्ने छ। नतिजा हेर्नका लागिresults.ekantipur.comमा लगइन गर्नुका साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ।
गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए। कान्तिपुर दैनिक बाट










