जलाउन लागेको शवसहित १७ जना मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो ।
एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्वले ७४ वर्षीय आमा विधा विश्वलाई कुटपिट गरी घाइते बनाएका थिए । मदिरा सेवन गरेका राजेशले आमालाई कुटपिट गरेका थिए ।
शरीरका विभिन्न भागमा निलडाम भएकी विधाको मृत्यु सोही कुटपिटबाट भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ।










