रौतहट, १० असार । रौतहटमा जनप्रतिनिधिको धारिलो हतियार प्रहारबाट एकै परिवारका चार जना घाइते भएका छन् । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. ७का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो विपक्षीको जग्गामा जर्वजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुदा उनल धारिलो हतियार प्रहार गरेका हुन् । घाइते चारै जनाको अवस्था गम्भीर छ । पुरानो रिसबीले सडक विस्तारको नाममा उनीहरुमाथि आक्रमण गरेको स्थानीयतको आरोप छ ।
वडाअध्यक्षको विपक्षी भएको कारणले खेत अगाडि सडक बिस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनि जग्गाधनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडि रोक लगाएका थिए । रोक्काको लागि जिल्ला अदालतबाट आदेश पत्र पठाई विवादित कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको दिनानाथ यादबको नेतृत्वमा टोली खटाईएको थियो ।
तर त्यो बेला पनि वडाअध्यक्ष कुशवाहाले कुनै वास्ता नगरी ईन्चार्ज यादवसँग समेत झगडा गरेको पीडित गोविन्दले बताए । केही दिन यता देखि सडक विस्तार कार्य धेरै विवाद पश्चात रोकिएको थियो ।
पुनः सोही बिषयलाई लिएर शनिबार सडक ढलानको वेला पीडित शिव गोबिन्द कुशवाहा विवाद मिलाएपछि मात्र काम अगाडी बढाउनु होला भन्न खोज्दा वडाअध्यक्ष कुशवाहाले आफ्नो ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हतियार प्रहार गरि ज्यान लिने उद्देश्यले टाउको र शरीरको विभिन्न भागमा गम्भीर घाउ बनाएको पीडित कुशवाहाले बताएका छन ।
वडाअध्यक्ष बिजय कुशवाहा तत्कालीन एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।










