बिर्तामोड : इलामबाट झापातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । शनिवार राति करिब ८ बजे को १ ख ४७१७ नम्बरको बस मेची राजमार्ग अन्तर्गत कुटिडाँडा–जोरकलश सडकखण्डको रोङ गाँउपालिका–४ भालुझोडामा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा भारतको नपतगञ्जका सारदादेवी सिंह, रोङ गाँउपालिका–४ का रञ्जिता लेप्चा, समीक्षा लेप्चा, मोरङ बुढीगंगा गाँउपालिका–२ का ममता सिंह, सोनीदेवी मण्डल, अन्जनीकुमारी मण्डल, पार्वती चौधरी, बद्री मण्डल, शिवकुमारी मण्डल, रामनारायण चौधरी, सुष्मा विश्वास, अनामिका माझी घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेहरुको झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । बस अनियन्त्रित भइ सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीको भनाइ छ । बसका चालक मोरङ कटहरी नगरपालिका–१ का मुन्ना राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।