काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएको १४ बुँदे सम्झौता ऐतिहासिक भएको बताएका छन् । ६ दिने औपचारिक चीन भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले नेपालको विकासमा चीनले पूर्ण सहयोग गर्ने आश्वासन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै छिमेकीसँग सुमधुर सम्बन्ध विस्तार गर्न सरकार क्रियाशील हुने र सबैसँग समान व्यवहार गर्ने धारणा राखे । प्रधानमन्त्रीसँग स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण सोचेभन्दा बढी नै उपलब्धिमूलक भएको दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले रेलवे विस्तारका विषयमा सबैभन्दा महत्वपूर्ण सहमति भएको भन्दै यसले नेपालको विकासमा फड्को मार्ने बताए । मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि चाँडै नेपाल भ्रमण गर्ने जानकारी दिए । मन्त्री ज्ञवालीले चीनसँग भएको सहमति र सम्झौताले दुई देशबीचको सम्बन्ध उच्चस्तरको भएको पुष्टि भएको दाबी पनि गरे ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ समकक्षी ली खछ्याङलगायतसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलवेसम्बन्धी परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध बलियो बनाउने सम्झौता, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माण, मितेरी पुल निर्माण, ऊर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य, मानवस्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्यसम्बन्धी सम्झौता भएका थिए । प्रधानमन्त्री ओली यही असार ५ गते औपचारिक भ्रमणकाक्रममा चीन प्रस्थान गरेका थिए ।