काठमाण्डु, ११ असार – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नी पत्नी हिसिला यमीको खुलेरै प्रशंशा गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले हिसिला समय भन्दा पहिले जन्मेकी अद्भुत महिला भएको बताए । यमीको ६० औँ जन्म दिनको अवसरमा फेसबुकमार्फत् बधाई तथा शुभकामना दिँदै डा भट्टराईले पत्नीबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘४० बर्षको मेरो तिमीसँगको सहकार्य र सहवासको अनुभवले भन्छ, तिमी हाम्रो समय भन्दा अलिक पहिले जन्मेकी एक अद्भूत महिला हौ’, भट्टराईले भनेका छन्, ‘कतिपयले खराब नियतवश र कतिपयले हल्लैहल्लामा तिम्रो वदनाम गर्ने कोशिस गरे पनि अन्ततः इतिहासले तिमीलाई महिलामुक्ति र समग्र मानवजातिको मुक्तिकानिम्ति आफ्नो जीवन समर्पित गर्ने एक महान् महिलाको रूपमा स्थापित गर्नेछ ।’
हिसिला जस्तो जीवनसाथी पाएकोमा आफू गौरवान्वित भएको पनि डा भट्टराईले बताएका छन् । भट्टराईले लेखेका छन्, ‘म तिमीजस्तो जीवनसाथी पाएकोमा गौरवान्वित छु ! भोलटेयरले आफ्नी प्रेमिकाबारे भनेको She understands Newton, she makes me happy उद्धरण सापट लिएर मलाई पनि तिमीबारे भन्न मन लाग्छ- She understands Marx, she makes me happy !’
जन्मदिनको अवसरमा शुभकामना दिन गरिएको पोष्टमा भट्टराईले माओवादीमै छँदा हिसिलासँग नाचेको तस्वीर प्रयोग गरेका छन् ।










