प्रदेश ५ सरकारले पेश गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टी जनाएका छन् ।
सोमबारदेखि प्रदेशसभा वैठकमा शुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिएका १३ जनामध्ये १२ जना सत्तापक्षका सांसदले विनियोजन विधेयकप्रति असन्तुष्टी जनाएका हुन् ।
वैठकको सुरुमै दाङबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका सांसद इन्द्रजित थारुले विनियोजन विधेयक नीति तथा कार्यक्रममा आएका नीति र सिद्धान्तअनुरुप नभएको भन्दै बजेट समाजवाद उन्मुख नभएको धारणा राखे ।
उनले बजेटमा पूर्वाग्रही गन्ध आएको बताउँदै जग्गा दलालहरुले रक्सी खाने ठाउँलाई पर्यटकीय विकास गर्ने भनी जबर्जस्ती बजेट पारिएको आरोप लगाए । ‘ऐतिहासिक महत्वका पर्यटकीय ठाउँहरुलाई छाडेर जग्गा दलालहरुले रक्सी खाने ठाउँलाई पर्यटकीय विकास गर्ने भनी जबरजस्ती बजेट पारिएको छ’ थारुले भने ।
सत्तारुढ दल नेकपाकै अर्का सांसद कूलप्रसाद पोखरेलले विनियोजन विधेयक त्रुटीपूर्ण रहेको भन्दै सच्याउन आग्रह गरे । नेकपाकै अर्का सांसद इन्द्रप्रसाद खरेलले मुख्यमन्त्रीले वजेटमा कसैलाई भेदभाव नगर्ने बताए पनि बजेटमा दाङ र रुपन्देहीलाई बढी प्राथमिकता दिएको र बाँकेलाई उपेक्षा गरिएको गुनासो गरे ।










