नेकपाका सांसद नवराज सिलवालले सुरक्षा संयन्त्रको पुनसंरचना गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय , गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सुरक्षा नै विकासको मुल मेरुदण्ड भएको भन्दै उनले सुरक्षा संयन्त्र चुस्त र दुरुस्त राख्न समग्र सुरक्षा संयन्त्रको पुनसंरचना गर्दै राजधानीको ट्राफिक व्यवस्थापनमा पनि उपयुक्त कार्ययोजना सहितको बजेट विनियोजन गर्न सुझाव दिए ।
नेकपाका सांसद पुष्पा कुमारी कर्ण कायस्तले सडक दुर्घटनाकम गर्दै सुरक्षित सडक यात्रा , एकिकृत ट्राफिक व्यवस्थापन कार्यक्रममा बजेट नभएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।
नेपाली कांग्रेसका सांसद पदम नारायण चौधरी प्रहरी प्रशासनको विकेन्द्रिकरण हुन नसक्दा प्रहरीहरु अन्यौलमा रहेकाले शान्ति सुरक्षाको अवस्था प्रभावित भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए । स्थानीय तहका प्रहरीहरुमा केन्द्रको आदेश मान्ने वा प्रदेश वा स्थानीय सरकारको आदेश मान्ने भन्ने अन्यौल देखिएकाले तत्काल प्रहरी प्रशाशनको तहगत चेन अफ कमाण्ड स्पष्ट गर्न माग गरे ।
नेकपाका सांसद मोहन बानियाँले जलविद्युत्का आयोजनाहरुमा जनताको अनिवार्य लगानी गराउनुपर्ने धारणा राखे ।
नेपालको पानी जनताको लगानी भन्ने नारालाई पछ्याउन पनि उनले सरकारलाई सुझाव दिए । कृषि क्षेत्र नै मुलुकको सम्वृद्धिको आधार हो भन्ने नारा सहित सबै जिल्लामा सिंचाई सुविधा पुर्याउने विषयलाई नीतिगत रुपमा अघि बढाउनुपर्ने र त्यो केन्द्रबाट संञ्चालन गर्नुपर्ने धारणा राखे । उनले तटबन्धनका आयोजनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।










