नरेन्द्र ढकाल/बिर्तामोड।

सवारी दुर्घटनाको मुख्य कारक ट्रिपर भएको पाइएको छ । सडकको ‘यमराज’ भन्न थालिएको ट्रिपरको अत्यधिक गति र अपरिपक्व चालकका कारण दुर्घटना हुने गरेको पाइएको हो । ट्रिपर दुर्घटनामा परेकाहरु बाँचेका कमै छन् । आइतवार मात्र बुद्धशान्तिमा ट्रिपरले किचेर लक्ष्मण खतिवडाको मृत्यु भयो ।
चालूआर्थिक वर्षको हालसम्ममा आठ जनाले ट्रिपरको ठक्करबाट ज्यान गुमाइसकेका छन् । गतवर्षको कात्तिक २२ गते अर्जुनधारास्थित बसपार्क छेउमा साइकलयात्रीलाई ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै पुस १५ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चारआलीको जंगलमा ट्रिपरकै कारण दुई जनाले ज्यान गुमाउनु प¥यो ।
त्यस्तै माघ महिनाको ३ गते कमल गाउँपालिकास्थित मंगलबारेमा ट्रिपरकै ठक्करबाट एक जनाको मृत्यु भयो । चैत १४ गते दमकमा भएको दुर्घटनामा अर्का एक जनाले ज्यान गुमाए । त्यस्तै वैशाख ११ गते दुर्गापुरमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाए । ट्रिपरकै ठक्करका कारण हालसम्म ३ जना घाइते भएका छन् ।
ट्रिपर देख्यो कि आफैंलाई खान आएको जस्तो लाग्ने गरेको मोटरसाइकल चालकहरु बताउँछन् । अधिकांश दुईपाङ्ग्रे सवारी चालक हिजोआज सडकमा ट्रिपर देख्दा आत्तिने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार अधिकांश ट्रिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउने गरेको पाइएको छ । ‘तर सँधै ठूला सवारीको मात्र दोष हुँदैन’– जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राई भन्छन्– ‘दुर्घटनामा घाइते र मृत्यु हुनेमा साना गाडी चालक धेरै भएकाले ठूलो गाडीको दोष देखिने गरेको हो ।’
लेन मिच्ने, गलत तरिकाबाट ओभरटेक गर्ने, सानो बाटो देख्यो कि गाडी छिराउनेजस्ता प्रवृत्ति दुईपाङ्ग्रे चालकमा बढी देखिएको उनी बताउँछन् । ‘सवारी जाम भएका बेला सवारीकाबीचमा कम्तीमा ५ फिट दूरी हुनुपर्छ तर नेपालमा पाँच इञ्च पनि कायम नगर्ने धेरै रहेका छन् ।
जति नजिक सानो सवारी भयो, अग्लो स्थानमा रहेको ट्रिपर ड्राइभरले देख्दैन, अनि दुर्घटना हुने बताउँछन् प्रहरी निरीक्षक राई । चालकको दायाँतिरको ऐनामा ठ्याक्कै मुनिको सानो सवारी देखिँदैन । यसैले ट्रिपरमा दुर्घटनाको सम्भावना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी याम खड्काको भनाइ छ । वार्षिक २५ हजारभन्दा बढी ट्रिपर नेपाल भित्रिन्छन् तर सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने १० हजार हाराहारी मात्रै हुन्छन् । ठूला सवारीका लागि लाइसेन्स लिने प्रक्रिया, उमेर र अनुभवको मापदण्ड खासै नभएकाले पनि दुर्घटना निम्तिने गरेको ट्राफिक प्रहरीहरू बताउँछन् ।
दिनहुँ बढिरहेका दुर्घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयको गहन अध्ययनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लागेको प्रहरी निरीक्षक राईले बताए । ट्रिपर दुर्घटनामा पर्नेहरु बाँच्ने सम्भावना अत्यन्त कम भएको भन्दै ट्रिपरलाई दुर्घटनाको यमराज नै भन्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
झापामा सबैभन्दा धेरै दुर्घटनामा मोटरसाइकल पर्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ठूला सवारीका कारण मात्र नभई साना सवारीका कारण पनि दुर्घटनाको जोखिम बढ्ेको प्रहरीको भनाइ छ । एकै दिशाबाट आउँदै गरेको सवारी दुर्घटनामा तीब्र गति, ओभरटेक लगायतका गल्तीका कारण मानिसको ज्यान जाने गरेको पाइएको छ ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले अब ठूला सवारीको लाइसेन्समा कडाइ गर्ने भएको छ । लाइसेन्सरहीत सवारी चालकलाई कडा कारबाही गरिने प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले तीब्र गतिमा सवारी नचलाउन समेत सबैमा आग्रह गरेको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ट्रिपरका कारण झापामा नै धेरैको मृत्यु भएको छ । चालूआर्थिक वर्षको सोमबारसम्ममा पूर्वका १६ जिल्लामा २४ वटा ट्रिपर दुर्घटना हँुदा १३ जनाले ज्यान गुमाएका छन् भने २८ जना घाइते भएका छन् ।
ट्रिपर दुर्घटनालाई आधार मान्दा झापामा सबैभन्दा धेरैको मृत्यु भएको तथ्याङ्कले देखाएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैबीच पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले सोमबारबाट जनचेतनामूलक कार्यक्रमलाई तीब्रताका साथ सञ्चालन गर्न शुरु गरेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।










