काठमाडौँ,१२ असार–गृहमन्त्री रामबहादुर थापाले विशेष र ठूला मुद्दाको अनुसन्धान गर्नका लागि आफ्नो मातहतमा रहने गरी उच्च स्तरीय ‘टाक्सफोर्स’ गठनको तयारी थाल्नुभएको छ ।
अपराध भ्रष्टाचार लगायतका घटनामा साना भुराहरु मात्र परेको भन्दै गृहमन्त्री थापाले आफ्नै माताहातमा रहने गरी उच्चस्तिरिय र्फोस परिचालन गर्ने तयारी गर्नु भएको छ । र्फोस गठनसँगै अपराधिक घटनामा संलग्न ‘ठूला माछा पक्रने’ गृहको विश्वास छ ।
यसले खास–खास मुद्दामा मात्र काम गर्नेछ । ‘टाक्सफोर्स’लाई राजनीतिक दबाबबाट मुक्त राख्नेगरी गृहमन्त्री थापाले तयारी गरिरहनु भएको बताइन्छ । गृहमन्त्रीको अभ्यास सफल भयो भने घटनाको अनुसन्धान र कारवाही गर्ने काम प्रत्यक्ष गृहमन्त्रीको मातहतमा रहने यो ‘टाक्र्सफोर्स’ ले गर्ने छ ।
गृहमन्त्रालय स्रोतका अनुसार राजनीतिक दबाबबाट मुक्त रहनेगरी विशेष अनुसन्धान र अप्रेसन (कारबाही) सञ्चालन गर्न उच्च स्तरीय ‘टाक्सफोर्स’ को तयारी गरिएको हो । वित्तीय अनियमिता, तस्करी, धोकाधडी, आपराधिकलगायतका प्रकृतिका मुद्दामा काम गर्ने गरी ‘टाक्सफोर्स’ गठन गर्न लागिएको बताइन्छ । हाल अनुसन्धान भइरहेको सुन तस्करीको पछिल्लो घटनामा प्रहरीले फरार रहेका एम.के. अग्रवाल मुख्य लगानीकर्ता र दोषी भएको पहिचान गरिसकेको छ । कार्यदलले यस्ता मुद्दाहरू हेर्नेछ ।
‘सम्भवत डीआईजीको नेतृत्वमा हुने यस कार्यदल (टाक्सफोर्स) छिट्टै गठन गरिनेछ । यसका लागि हामी आधारभूत कार्यहरू गरिरहेका छौं । यसले विशेष अनुसन्धान र कारबाहीहरू सञ्चालन गर्नेछ’, गृह मन्त्रालयको स्रोतले भन्यो ।
यसका लागि गृहमन्त्रीले मन्त्रीपरिष्द्बाट निर्णय गराउन सक्नुहुन्छ वा प्रधानमन्त्रीको परामर्शमा यो ‘टाक्सफोर्स’ गठन हुन सक्छ । आबश्यकता अनुसार फोर्स ल्याउने र फिर्ता पठाउने काम पनि हुनेछ ।
‘एउटा निर्दिष्ट काम सम्पन्न भएपछि सदस्यहरू आ–आफ्ना स्टेसनमा फर्कनेछन् । यदि अन्य काम आइपरेमा टाक्सफोर्स पुर्नगठन गरिनेछ,’ गृहका एक अधिकारीले भने, ‘गृहमन्त्री चीन भ्रमणमा गएकाले केही ढिला हुन गएको हो । उहाँ फर्किसक्नु भएको छ । अब यस विषयमा छलफल अघि बढ्छ ।’
कार्यदलले ठूला आपराधिक घटना घटाउने माथि कानुनी कारबाही गर्नेछ र आफूले अनुसन्धान सकेपछि ती मुद्दामाथि अदालती कारबाही अघि बढाउनेछ । स्रोतका अनुसार विगतमा प्रहरीहरू राजनीतिक दबाबमा परेर अपराधीलाई मुक्त गर्नुपर्ने तीतो अनुभवकबाट सिकेर यो कार्यदल परिकल्पना गरिएको हो । स्रोतका अनुसार गृहमन्त्री थापा प्रहरीले सुन तस्करी र काम नगर्ने ठेकेदार, कुख्यात अपराधीमाथि शिघ्र कारबाही गर्न नसकेको अवस्थाबाट असन्तुष्ट छन् ।










