विराटनगर, १२ असार – नेपाल–भारत सीमा दशगजा क्षेत्रको अतिक्रमण हटाउन शुरू भएको छ ।
सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलीले जोगवनी र रानीबीच दशगजा क्षेत्रको पसल तथा टहरा हटाएको हो । नेपालतर्फ र भारततर्फका प्रहरी अधिकारी सहितको टोलीले दशगजा क्षेत्रको अतिक्रमण हटाएको छ । प्रहरी टोलीले जोगवनीको दशगजामा राखिएका ३९ वटा टहरा र पसल हटाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयले जनाएको छ ।
समयसीमा दिएर अरु ८० वटा घर हटाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाले जानकारी दिए । घरहरू दशगजामा नै बनाएकाले तत्काल हटाउन समस्या हुने हुँदा १ महिनाको समय दिइएको उनले बताए । नेपाल र भारतीय दुबै पक्षले हटाउन थालेपछि घरधनीले ५ महिनाको समय मागेका थिए । तर, लामो समयसम्म बस्दै आएकालाई दुबै देशको सहमति अनुसार १ महिनाभन्दा बढी समय नदिइने एसपी थापाले बताए ।
दशगजामा बस्नेमा नेपाली र भारतीय दुबै पक्षका छन् । दुबैतिर नागरिकता लिने पनि रहेको बताइन्छ । ‘पसल हटाइसकिएको छ,’ एसपी थापाले भने, ‘अब घरहरू हटाउने तयारी रहेको छ ।’ दशगजा क्षेत्रमा वस्ती बस्दा भारतीय तथा नेपाली भूमिमा सुरक्षा खतरा हुने भन्दै दुबै देशका सुरक्षा अधिकारी दशगजा खाली गराउन सहमत भएका हुन् ।
भारतको जोगवनीका नेता पप्पु पटेललाई अज्ञात व्यक्तिले गोल हानेपछि भारतीय पक्ष पनि दशगजा खाली गराउन सकारात्मक देखिएको अधिकारीको भनाई छ । भारतीय पक्ष सकारात्मक भएपछि दशगजा खाली गराउन सफल भएको नेपाल पक्षको भनाई छ । यसअघि, पटक–पटक नेपाल पक्षले दशगजाको वस्ती हटाउने प्रयास गरेको भएपनि भारतीय पक्षले आलटाल गर्दै आएको थियो ।लोकान्तर बाट










