‘मानव जीवन एकपटकका लागि हो, तर परीक्षा जीवनमा धेरैपटक आउँछन् । परीक्षाको एउटा असफलताले अर्को सफलता दिलाउँछ’– यो सत्य जान्दाजान्दै पनि परीक्षाफल विग्रिएकै आधारमा कतिपय विद्यार्थी सही निर्णय गर्न नसक्दा जीवन त्याग्न पुग्छन् ।

झापामा एसईईको नतिजाले आवेशमा आएर केही विद्यार्थीले आफ्नो जीवन त्यागेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै झापाका तीन विद्यार्थीले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परीक्षा नियन्त्रण कार्यालयको त्रुटीका कारण विद्यार्थीले आत्महत्या गरेको बताइन्छ । आफूले अनुमान गरेको नतिजा प्राप्त गर्न नसकेपछि दुई छात्रासहित तीन विद्यार्थीले आत्महत्या गरेका हुन् भने एक छात्राले आत्महत्याको प्रयास गरेकी छिन् । उनको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बिर्तामोड, शिवसताक्षी, बुद्धशान्ति गाउँपालिकामा रहेका तीन विद्यार्थीले नतिजा कम आएकै कारण आत्महत्या गरेको हुनसक्ने बताइन्छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजामा प्राताङ्क कम आएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने अभिभावकको भनाइ छ ।

बुधबारेका एक विद्यार्थीको नतिजा शुरुमा १.५ जीपीए आएको थियो । त्यो लगत्तै उनले आत्महत्या गरे तर त्यसको भोलिपल्ट उक्त नतिजा हेर्दा ३.५ जीपीए पाइएको थियो । पर्यटकीय क्षेत्र भेडेटार घुम्न गएका दुई छात्राले भेडेटारमै संगै विष सेवन गरेका थिए । विष सेवन गरेका मध्ये एकको मृत्यु भएको छ ।

झापामा २३० ले गरे आत्महत्या झापामा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको पछिल्लो तीन वर्षे तथ्यांक अनुसार प्रत्येक वर्ष झण्डै दुई सयको हाराहारीमा झुण्डिएर आत्महत्या गर्ने गरेको उल्लेख छ ।

विष सेवन गरेर आत्महत्या गर्नेको संख्या दोस्रोमा आउँछ । त्यस्तै आफ्नो शरीरमा आगो लगाए र हामफालेर आत्महत्या गर्नेको संख्या पनि झापामा निकै छ ।

आत्महत्या न्यूनीकरण सम्बन्धी प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आत्महत्या गर्नेको दर प्रत्येक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष २०७१÷०७२मा एक सय ८३ रहेकोमा २०७२÷०७३ मा यो संख्या बढेर एक सय ९३ पुगेको थियो भने ०७३÷०७४मा एक सय ९७ र आर्थिक वर्ष ०७४÷०७५को जेठसम्मको तथ्यांकमा एक सय ९६ जनाले आत्महत्या गरिसकेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा २२ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् भने ०७३÷०७४मा ३१ जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७४÷०७५मा एसिड सेवन गरेर पनि आत्महत्या गर्ने पनि रहेका छन् । औजारबाट अघिल्लो आर्थिक वर्षमा एकजनाले आत्महत्या गरेका थिए भने चालूआर्थिक वर्षमा आफ्नो शरीरमा आफैं आगो लगाएर दुई जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

आर्थिक वर्ष ०७४÷०७५मा १६ वर्षमुनिका १५ जनाले आत्महत्या गरेका छन् । १६–२५ वर्ष समूहका ५९, २६–३५ वर्ष उमेर समूहका ४९, ३६–४५ उमेर समूहका २६, ६० वर्षसम्मका ४८, ६० वर्षमाथिका ३१ र वर्ष खुल्न नसकेका दुई जना गरी दुई सय ३० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गिरीको आत्महत्याले शिक्षा क्षेत्र स्तब्ध यसैबीच बालनिकुञ्ज माध्यमिक विद्यालय शिवसताक्षी, माईधार गैंडेका शिक्षक तुलसी गिरीको अकल्पनीय निधनले झापाली शिक्षा क्षेत्र स्तब्ध बनेको बताइएको छ । गिरीले सोमबार बिहानको राति आत्महत्या गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । संस्थागत विद्यालय शिक्षक युनियन झापाका संस्थापक सदस्य, नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका कार्यसमिति सदस्य समेत रहेका गिरी माध्यमिक तहमा गणित विषय अध्यापन गर्थे । उनले कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट शैक्षिक योजना तथा व्यवस्थापन (ईपीएम) विषयमा स्नातकोत्तर गरेका थिए । मेचीनगर नगरपालिका स्थायी घर भएका गिरी पूर्व निर्वाचित जनप्रतिनिधि पनि थिए । उनकी धर्मपत्नी दमयन्ती गिरी शिवसताक्षी नगरपालिकास्थित लालपानी माविमा माध्यमिक तहमा नेपाली शिक्षकका रुपमा कार्यरत छिन् । स्वर्गीय गिरीका छोरी प्रतिसाले भर्खरै प्रकाशित एसईईको नतिजामा कनकाई मावि सुरुङ्गाबाट ए ग्रेडमा उत्तीर्ण गरेकी छन् । छोरा प्रतिस पनि कनकाई माविमा कक्षा ८मा अध्ययनरत छन् । मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम परीक्षणपछि सोमबार नै उनको मेचीनगरस्थित निन्दाखोलामा दाहसंस्कार गरिएको छ । सोमबार १ दिनका लागि शिवसताक्षी नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा शोक बिदा गरिएको थियो ।