काठमाडौँ, १३ असार । सामाजिक सञ्जाल फेसबुकमा अमर्यादित र आपत्तिजनक शब्दहरु प्रयोग गरि गाली गर्ने २ जनलााई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले इलाम नगरपालिका–६, तिल्केनी घर भई ललितपुर बागडोल बस्ने ५० वर्षका विनोद गौतम र सुनवल नगरपालिका–४, नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यूज २४ टेलिभिजनमार्फत प्रसारित ‘सीधा कुरा जनतासँग’का विषयमा परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शव्दसहित पोष्ट र कमेन्ट गरी प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मान प्रतिष्ठा समेतमा आघात पुर्‍याउने, ज्यान मार्ने समेतका धम्की दिई त्यस्ता सामग्रीहरुको पोष्ट गर्दै आएको भन्ने सूचना महाशाखामा पुगेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

गौतमलाई मंगलबार काठमाडौँको टेकु र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ ।

विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।